• ७ साउन २०८१, सोमबार

‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

blog

‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका एक बालकको परीक्षण गर्दै डा. गौतम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ७ गते । बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाको नेपालगन्जसहित ग्रामीण क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको हो । 

भेरी अस्पताल नेपालगन्जका यौन तथा छाला रोग विशेषज्ञ डा. अस्मिता गौतमले वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिको छालामा फोका उठ्ने र पाक्ने समस्या देखिने जनाउँदै अहिले सो रोगका बिरामीहरु भेरी अस्पतालमा दैनिकजसो आउन थालेको बताउनुभयो । उहाँले ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका बिरामीसँगै शरीर चिलाउने, बच्चाहरूमा पिलो, घमौरा, छालामा सङ्क्रमणलगायतका बिरामीहरु अस्पताल आउने क्रम बढिरहेको जानकारी दिनुभयो । 

भेरी अस्पतालमा अहिले दैनिक ८ देखि १० जना ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका र ७० देखि ८० जनामा अन्य छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा. गौतमले बताउनुभयो । उहाँले थप्नुभयो, “अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढेको छ । ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण पनि तीव्र रुपमा बढेको छ ।” 

‘नाइरोबी फ्लाई’ कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन चिकित्सकहरुले सुझाव दिएका छन् ।  

कीराको सम्पर्कबाट जोगिन बाहुला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्ने डा. गौतमले बताउनुभयो । खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो । यो किराको सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ ।

यस्तै, भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले छाला रोगसँगै झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम पनि अत्यधिक बढेको बताउनुभयो । 

मनसुनजन्य रोग लागेका बिरामीहरू अहिले दैनिक सयभन्दा बढीको सख्यामा भेरी अस्पतालमा उपचारका लागि पुगिरहेको डा. रिसालको भनाइ छ ।