• ५ साउन २०८१, शनिबार

मर्यादित श्रम बजारले आर्थिक सशक्तिकरणमा टेवा पुग्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन ५ गते । रेष्टुरेन्ट, बार, लोकदोहोरी, क्लबलगायतका रात्रीकालिन व्यवसायहरुमा व्यवस्थित र मर्यादित श्रम संस्कारको विकास गर्न सके देशभित्रै रोजगारीको सिर्जना र आर्थिक सशक्तिकरणको जग बलियो हुनेमा जोड दिइएको छ । 

शुभ अवसर ग्राम नेपालद्वारा आयोजित कार्यक्रममा रात्रीकालिन व्यवसायमा कार्यरत श्रमिकबिच गरिएको अध्ययनको क्रममा रोजगारीको ठुलो सम्भावना रहेको रात्रीकालिन व्यवसायले स्वदेशमै राम्रो रोजगारी सिर्जना गरेपनि केही सुधारको आवश्यकता रहेको पाइएको हो । 

शुभ अवसर ग्राम नेपालमा परियोजना अफिसरको रुपमा कार्यरत रन्जना शर्माले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै रात्रीकालिन व्यवसाय ५० प्रतिशत नै दर्ता नभएको, ८० प्रतिशतले परिचयपत्र नपाएको, ८५ प्रतिशतले यातायातको सुविधा नपाएको करिब ९० प्रतिशतले नै श्रम ऐनले तोकेको न्युनतम ज्याला तलबको रुपमा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै श्रमिकहरु शिक्षित नभएकाले आफ्नो हकको बारेमा जानकारी नभएकाले रात्रीकालिन व्यवसायमा रमाइलोका लागि आउने ग्राहक र व्यवसायी साहुले जे भने पनि यहाँ मैले पैसाको लागि काम गर्छु, मैले त्यो सबै सहनुपर्छ भन्ने मान्यता राख्नेको गरेको पाइएको छ ।”

नेपाल राष्ट्रिय लोकदोहोरी सङ्घका अध्यक्ष विनोद श्रेष्ठले रात्रीकालिन व्यवसायमा सबै ठाउँमा श्रमिक शोषणमा परेका छैनन् भन्दै यस क्षेत्रमा संलग्न रहेको २० वर्षको अनुभव सुनाउँदै विगतमा भन्दा धेरै परिवर्तन र सुधारसमेत आइरहेकाले अध्ययन गर्दा श्रमिक र व्यवसायी समक्ष पनि पुग्न आग्रह गर्नुभयो । उहाँले नेपालमा नपढेका, नागरिकता नभएका र सम्बन्धित विषयमा कामै नगरेका अनुभवबिहिन व्यक्तिले पनि काम पाउने क्षेत्र भनेको रात्रीकालिन व्यवसाय नै हो, रोजगारी दिने र राजस्व तिर्ने व्यवसायलाई कसरी चलाउने भन्ने ऐन, नियम ल्याएर अनुगमन गर्ने संयन्त्र राज्यले बनाउनुपर्ने उहाँको भनाई छ । 

उहाँले आफ्नो व्यवसायमा काम गरेर देश–विदेशमा नाम कमाउने कलाकार र व्यवसायीसमेत तयार भएको भन्दै भन्नुभयो, “व्यवसायलाई मर्यादित बनाउन हरेक व्यवसायीले चाहन्छ तर नियममा चलाउन त राज्यले पनि हेर्नुपर्यो, अनुगमन गर्नुपर्यो, सबैलाई एउटै दृष्टिले हेर्नुभएन, व्यवसायीलाई दुःख दिने नियत पनि बन्द हुनुपर्ने र श्रमिक पनि आफ्नो हकको बारेमा जागरुक हुँदै मेहनत गर्न तयार भए रात्रीकालिन व्यवसायले आर्थिक रुपान्तरणका लागि विशेष भूमिका खेल्ने छ ।”

काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभागकी, अपाङ्ग तथा महिला शाखाकी भवानी कपालीले रात्रीकालिन व्यवसायमा रोजगारी गर्ने एक जना श्रमिकले हिंसा भयो, श्रम शोषण भयो भनेर महानगरपालिका उजुरी वा गुनासो नगरेको बताउनुभयो । उहाँले महानगरपालिकाले सिप सिकाएर रोजगारीका लागि समन्वय गर्ने नीति ल्याएकाले त्यस कार्यक्रमसँग जोडिन आग्रह गर्नुभयो । 

रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष सङ्घर्ष विष्टले एसोसिएसनमा आवद्ध रेष्टुरेन्ट र बारमा श्रमिक शोषणमा परेको गुनासो नभएको बताउनुभयो । सो एसोसिएसनका महासचिव शरदकुमार दाहालले एसोसिएसनले रेष्टुरेन्ट र बारमा काम गर्न श्रमिकका लागि हरेक वर्ष तालिमको व्यवस्था गरेको जानकारी दिँदै सो तालिममा सहभागी भएर सिप सिक्न आव्हान गर्नुभयो । 

शुभ अवसर ग्रामका निर्देशक, सिस्टर अन्थयोनिया सुसैंले रोजगारीको बहानामा एक जना पनि श्रमिकले हिंसा, शोषण भोग्नु हुन्न भन्दै व्यवस्थित व्यवसाय र मर्यादित श्रमको वातावरण तयार गर्न सरकार, व्यवसायी र श्रमिकको समन्वयात्मक भूमिकाका लागि शुभ अवसर ग्रामले काम गर्दै आएको बताउनुभयो ।