• ५ साउन २०८१, शनिबार

सुपारीबाट दोहोरो आम्दानी

blog

लिफ्ट लेटाङ इन्टरप्राइजेजले उत्पादन गरेका सुपारीका पातबाट बनेका सामग्री । तस्बिर : हरिप्रसाद कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ५ गते । मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो । उहाँले सवा सय बोट सुपारी लगाउनुभएको छ । स्थानीय लिफ्ट लेटाङ इन्टरप्राइजेजले सुपारीका पातबाट दुनाटपरी निर्माण गर्ने घरेलु उद्योग खोलेपछि सुपारी खेती गरिरहेका किसानले दोहोरो लाभ लिन थालेका छन् । 

खगेन्द्रराज भण्डारी मात्र होइन, लेटाङ–६ का हरिप्रसाद धिमालले सुपारीका पात बिक्री गरेर ११ हजार रुपियाँ आम्दानी गरेको बताउनुभयो । धिमालको बारीमा सुपारीको ठुलो बगान छ । धेरै जसो पात झरेर जान्छन् । सङ्कलन गरेर भण्डारण गर्न सक्ने हो भने पातबाटै २०/२२ हजार रुपियाँ कमाउन सकिने धिमालको भनाइ छ । भण्डारी र धिमाल जस्तै गोपीलाल मगर, देवीप्रसाद ओझालगायत थुप्रै किसान सुपारीका पात बिक्री गरेर लाभ लिइरहनुभएको छ । लेटाङका सात जना उद्यमी मिलेर सुपारीका पातबाट दुनाटपरी बनाउने मेसिन ल्याएपछि सुपारीका पात बिक्री हुन थालेका हुन् । उद्योगले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

सञ्चालक लोकनाथ तिम्सिनाले भन्नुभयो, “२०७८ सालको कात्तिकदेखि दुनाटपरी, प्लेट उत्पादन गर्न थालेका हौँ । स्थानीय बजारमा भन्दा काठमाडौँ, पोखरा जस्ता ठुला बजारमा माग बढी छ । अझ विदेश निर्यात पनि हुन थालेपछि व्यवसायीहरू उत्साही छन् । पछिल्लो समय विदेश निर्यातको प्रक्रीया अलि झन्झटिलो भएकाले उत्पादित सामान मौज्दात रहेको बताउनुभयो । दैनिक १० हजार प्रति दुना, टपरी, प्लेट उत्पादन गरिरहेको उद्योगले आम्दानी पनि राम्रो गरिरहेको छ । 

सामान्यतया साढे दुई रुपियाँदेखि तीन रुपियाँसम्ममा खरिद गरेको पातबाट आठ÷नौ रुपियाँसम्ममा बिक्री हुने प्लेट, टपरी बनाउन सकिन्छ । साना दुना तीन रुपियाँसम्ममा बिक्री हुन्छन् । २१ लाख रुपियाँ लगानी गरी लोकनाथ तिम्सिना, जसबहादुर राई, युवराज खतिवडा, रोशन पौडेल, विजय देवकोटा, सुवास राई र अतिस सुवेदीले संयुक्त रूपमा यो व्यवसाय गर्दै आउनुभएको छ । 

स्थानीय खेर जाने वस्तुलाई सदुपयोग गर्दै आर्थिक लाभसँग जोड्ने यो व्यवसायले लेटाङका २७/२८ जनालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार दिएको छ । सुपारीका पातलाई उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेकाले यस उद्योगको प्रवर्धनका लागि लेटाङ नगरपालिकाले समेत सहकार्य गर्ने भएको छ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले भन्नुभयो, “राज्यले रोजगार दिन सक्ने अवस्था छैन । स्वरोजगार बन्ने उद्यमीलाई आर्थिक, प्राविधिक सहयोग गर्न हामी तयार छौँ तर ती उद्योगले रोजगार सिर्जना गर्न सक्नु पर्छ ।”