• ४ साउन २०८१, शुक्रबार

‘पाइडल नमारी जीविका चल्दैन’

blog

साइकल चलाएर पाउरोटी बेच्न जाँदै सीतादेवी दास । तस्विरः विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, साउन ४ गते । ४५ वर्षीया सीतादेवी दास घरबाट एका बिहान साइकल लिएर पाउरोटी बेच्न निस्कनुहुन्छ । छिरेश्वरनाथ नगरपालिका –९, इच्छापुर घर भएका उहाँ साइकलको क्यारियरमा क्रेट र अगाडिको भागमा साना झोलामा पाउरोटी राखेर बेच्न निस्कनुहुन्छ । यो उहाँको दैनिकी हो । 

छिमेकी महिला घरधन्दामा सीमित हुँदा सीतादेवी बिहान साइकलको पाइडल मार्दै टाढासम्म पाउरोटी बेच्न पुग्नुहुन्छ । यो व्यापारमा पुरुषहरु आबद्ध भए पनि धनुषामा यसरी साइकल चढेर पाउरोटी बेच्ने सीता एक्लो महिला भएको स्थानीयको भनाइ छ । 


गाउँमा मिहिनेती महिलाको पहिचान बनाउनुभएकी सीतादेवीले यसलाई आम्दानीको प्रमुख स्रोत बनाउनुभएको छ । उहाँ दैनिक ५० किलोमिटर साइकल चलाउनुहुन्छ । बिहान घरबाट निस्केपछि सखुवा महेन्द्रनगरस्थित पाउरोटी उद्योगबाट पाउरोटी खरिद गर्नुहुन्छ र साइकल चढेर रमदैया, सपही, लक्ष्मीनिया हुँदै जनकपुरसम्मको चिया तथा किराना पसलमा बेच्न जानुहुन्छ ।  

छोराछोरीको लालनपालन र जीविकोपार्जनका लागि विगत २० वर्षभन्दा बढी समयदेखि यो व्यापार गर्दैआएको सीतादेवीले बताउनुभयो । उहाँमाथि दुई छोरा र दुई छोरीको पालनपाेषण गर्ने जिम्मेवारी छ । श्रीमानकाे निधन भइसकेको छ । जेठी छोरीको विवाह यही व्यापारको आम्दानीले गरेको उहाँले सुनाउनुभयो । 

पहिला घरको आम्दानी बढाउन पाउरोटीको व्यापार सुरु गरेको बताउँदै उहाँले भन्नुभयो, “श्रीमान् कृषि मजदुरी गर्नुहुन्थ्यो । उहाँको आम्दानीले घर खर्च चलाउन समस्या भएपछि साइकलमा पाउरोटीको व्यापार गर्न थालें । नौ वर्षअघि श्रीमानकाे अल्पायुमा निधन भयो । उहाँको निधनपश्चात् छोरोछोरी हुर्काउने थप जिम्मेवारी आइलाग्यो ।” 

दिनभर साइकल चलाउँदा थकाइ त लाग्छ तर के गर्नु साइकलको पाइडल घुमाइनँ भने परिवारको जीविका चल्दैन उहाँले भन्नुभयो, “आम्दानीको अन्य स्रोत छैन, त्यसैले घामपानी नभनी यस्तो परिश्रम गर्न बाध्य छु । आम्दानी राम्रो भयो भने सुविधाका लागि विद्युतीय साइकल किन्ने सोच बनाएकी छु ।”

पाउरोटीको व्यापारबाट दैनिक पाँचदेखि सातसय रुपियाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सीतादेवीले बस्नका लागि गाउँमा त्यही कमाइले १० धुर जग्गा र त्यसमा बनेको सानो झुपडी जोड्नुभएको छ । उहाँले एसइईसम्म पढेका २२ वर्षीय जेठो छोरा कहिलेकाहीँ काममा सघाउने गरेको बताउनुभयो । अरु दुई छोराछोरी स्कुल पढ्न जाने गरेको उहाँको भनाइ छ ।  


स्थानीय सरोजकुमार महतोले सीतादेवी एक मिहिनेती महिला भएको बताउनुभयो । उहाँले भन्नुभो, “यस्तो मिहिनेती महिला थोरै भेटिन्छन् । श्रीमान् नहुँदा पनि दिनभर परिश्रम गरेर छोराछोरीको पालनपोषण गरेका छन् । छोराछोरी पढाएका छन् ।” राज्यले यस्ता साना व्यापारीलाई व्यवस्थित र सुरक्षित गर्नसके उहाँजस्तै अन्य बेरोजगार महिला साना व्यवसायबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो । 

उहाँले बर्सेनी सीप तथा रोजगारमूलक काममा करोडौं रकम खर्च भए पनि यस्तो मिहिनेत गरेर जीविकोपार्जन गर्ने वर्गसम्म उक्त रकम पुग्न नसकेको सुनाउनुभयो ।