• ४ साउन २०८१, शुक्रबार

रुपन्देहीमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

blog

रुपन्देहीमा धान रोप्दै किसान । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे

बुटवल, साउन ४ गते । रुपन्देहीमा ९४ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार रुपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

यस वर्ष ढिलो गरि असारको दोश्रो सातादेखि वर्षा भएको कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालका अनुसार यो वर्ष मनसुन ढिलो गरी आएको र पानी पनि ढिलो परेका कारण अहिलेसम्म करिव ९४ प्रतिशत खेतमा धान रोपाइँ भएको हो । उहाँले केही दिनभित्रमा रुपन्देहीमा सवै खेतमा धान रोपाइँ सम्पन्न हुने बताउनुभयो । 

उहाँका अनुसार रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा धान रोपाइँ भैरहेको छ भने उत्तरी क्षेत्रमा भने अधिकांश किसानले धान रोपाइँ सकिसकेका छन् । रुपन्देहीमा किसानको रोजाइमा सावा मन्सुली र पछिल्लो समय लोकप्रिय बनेको हर्दिनाथ ६ भन्ने धान परेको छ । अधिकांश किसानले यही धान रोपेका छन् । त्यसका अतिरिक्त मोटो धान रामधान, सर्जुनाथ, कादम्बनी लगायतका धान रोपाइँ गरिएको छ । 

मर्चवारी गाउँपालिका मझगावाका किसान रामचअल यादवले पानी समयमा पर्दा अहिलेसम्म धान रोपाइँ भैरहेको र अबको एक साताभित्र मर्चवार क्षेत्रमा धान रोपाइँ सकिने बताउनुभयो । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान हरेन्द्र गुप्ताले पानी नपरेका कारण धान रोपाइँ ढिलो भएको बताउँदै अहिले पानी आएकोले अव यस क्षेत्रमा धान रोपाई एक सातामै सकिने बताउनुभयो । यस वर्ष समयमा धान रोप्न नपाएपछि उत्पादनमा कमी आउने चिन्ताले किसानहरुलाई भने सताएको छ । 

एकातिर समयमा पानी नआउनु र अर्कोतिर मल पनि भनेजति नपाएका कारण धान उत्पादन घटने हो कि भन्ने चिन्ता हरेन्द्र गुप्ताको छ । रुपन्देहीको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी मर्चवार र लुम्बिनी क्षेत्रमा हरेक वर्ष पानी धेरै कम पर्छ जसका कारण रोपाई समेत ढिलो हुन्छ भने उत्पादनमा समेत कमी हुने गरेको छ ।

रुपन्देही तराईमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्येमा एक मानिन्छ । रुपन्देहीको दक्षिणी क्षेत्रका किसानका खेतमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने किसानहरुको बाध्यता छ । रुपन्देहीको कूल खेतीयोग्य जमिनमध्ये १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ ।