• ४ साउन २०८१, शुक्रबार

भैरहवा भन्सार : आयात घट्दा खुम्चियो राजस्व

blog

भैरहवा भन्सार कार्यालय । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, साउन ४ गते । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । 

भैरहवा भन्सारले अघिल्लो आर्थिक वर्षमा भन्दा तीन करोड ६ अर्व कम राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९-८० मा एक खर्ब ५५ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा यो भन्सार कार्यालयले ७६ अर्ब ८९ करोड मात्रै सङ्कलन गरेको थियो । भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो ।

खासगरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडिमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताउनुभयो । उहाँले राजस्व घट्यो भनेर चिन्ता मात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिनुभयो ।