• ४ साउन २०८१, शुक्रबार

कर्ममा रमाउँदै प्रसाईं

blog

सुन्दरबजार (लमजुङ),  साउन ४ गते ।  कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।

विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नुपर्नेछ । लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उहाँले दिनुभएको छ । अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ । “आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ”, प्रसाईं भन्नुहुन्छ । 

राइनास नगरपालिका–५, तीनपिप्लेमा कृषि कर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उहाँले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् । जङ्गल र बुट्यानले ढाकिएको जग्गा एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उहाँले ५० लाख रुपैयाँजति खर्च गर्नुभएको छ । 

अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र रु १२ लाख आम्दानी गरेका प्रसार्इंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाउनुभएको छ । धानपछि उहाँले खर्बुजा खेती गर्नुहुन्छ । खरबुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उहाँले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उहाँको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उहाँले भन्नुभयोे ।

लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उहाँको भनाइ छ । राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उहाँ भन्नुहुन्छ । 

विगत १८ वर्षदेखि राईनासमा आउनुभएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खरबुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आउनुभएको छ । हेर्दा नै लोभ लाग्ने उहाँको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाउनुहुन्छ । 

आफ्नै कृषि कर्ममा हेरचाह गर्दै निरन्तर लागिरहेका प्रसाईंले स्थानीय तहबाट कुनै किसिमको सहयोग प्राप्त गरेका छैनन् । कृषि ज्ञान केन्द्रले सिँचाइका लागि पाइपलाइन, मल्चिङ प्लाष्टिक र मलखादका लागि यस वर्ष रु चार लाख बराबरको सहयोग गरेको छ । कृषि फार्ममा बङ्गुरपालन गरेका प्रसार्इंले गत वर्ष रोगका कारण बङ्गुर मरेपछि अहिले त्यसलाई थाति राख्नुभएको छ । त्यहाँ उहाँले उत्पादन गरेको अकबरे खुर्सानी, खर्बुजा र अन्य मौसमी तरकारी उत्पादनका लागि नियमित पाँच जनालाई रोजगारी दिनुभएको छ । त्यसबाहेक दैनिक ज्यालादारीमा समेत काम दिने गर्नुभएको छ । 

केही गरौँ भन्ने उत्साह भएका युवालाई कृषिमा ठूलो लगानी गरेको सरकारी तवरबाट सानो सहयोग दिने हो भने युवालाई यही विदेशकै जस्तो कमाई गर्न सकिन्छ भन्ने उहाँबाट बुझ्न सकिन्छ । स्थानीय तहहरुले विभिन्न शीर्षकमा बर्सेनि अनुत्पादक क्षेत्रमा बाँडिरहेका लाखौँ रुपैयाँको प्रतिफल आउन नसकेको भन्दै उहाँ त्यसलाई कृषि क्षेत्रमा लगाउन सकिएमा तरकारी र फलफूलमा आत्मनिर्भर हुन सकिने बताउनुहुन्छ । रासस