• ४ साउन २०८१, शुक्रबार

अनलाइनबाटै नयाँ नागरिकता

blog

अर्जुन चौपारी गाउँपालिका ३ मा अनलाइन प्रविधिबाट नयाँ नागरिकता सिफारिस गरिँदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, साउन ४ गते । प्रविधिको विकाससँगै स्याङ्जामा अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको छ । 

गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै पालिकामा एकैचोटी प्रविधिको प्रयोग शुरु गरिएको हो ।

गृह मन्त्रालयले जिल्लामा रहेका ९७ वडाका सचिव र वडा अध्यक्षलाई तालिम दिएसँगै गत असार १९ गतेबाट भिरकोटले शुरुवात गरेकोमा साउन १ गतेबाट भने सबै वडामा यो प्रणाली अनिवार्य गरिएको हो । 

यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने बताउँदै अर्जुन चौपारी ३ का वडासचिव नारायण पौडेलले सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेगरेको बताउनुभयो । 

प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । विगतमा कागजात नपुग्दा प्रशासन पुगेर फर्कनुपर्ने अवस्था रहेको बताउदै सप्रजिअ पौडलले सिफारिस भरेर नम्बर लिएर आउने कोही खाली नफर्कने बताउनुभयो । 

स्याङ्जामा जिल्ला प्रशासन कार्यलयबाट ५१ जना र इलाका प्रशासन कार्यालयबाट २० जना गरी ७१ जनाले अनलाइन सिफारिसमार्फत नयाँ नागरिकता लिएका छन् ।