• ४ साउन २०८१, शुक्रबार

राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

blog

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी । फाइल तस्विर

एकिन्द्र तिमिल्सिना

टीकापुर, साउन ४ गते । नेपाली काँग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् । 

काँग्रेस र एमालेले बिहीबार संयुक्त रुपमा भनेका छन्, ‘आर्थिक वर्ष २०८१–८२ को प्रदेश बजेट नै आउन नसकी आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न दुई दलका नेताले आग्रह गरेका छन् । 

यो गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सदस्यलाई आग्रह गर्दछौँ ।’

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदा रहँदै बजेटमाथिको छलफल अलपत्र परेको छ । 

प्रदेश सरकारले समय छँदै प्रदेश सभामा बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी समेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुगाएको काँग्रेस र एमालेका सांसदको आरोप छ । 

काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाद्वारा सयुक्त रुपमा जारी विज्ञप्तिमा प्रदेश सरकारले आर्थिक ऐनमार्फत आम्दानी गर्ने र विनियोजन ऐनमार्फत खर्च गर्न पाउने कानुनी प्रबन्ध भएको तर ऐनहरु पारित नभएकाले कर उठाउन र जनताले सेवा लिन पनि कठिन भएको उल्लेख छ ।

२०८१ वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई जना र एक जना स्वतन्त्र सदस्यको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । केन्द्रमा बनेको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि प्रदेशमा एमालेले सरकार छाडेको थियो । मुख्यमन्त्री सोडारी संविधानले दिएको सुविधा अनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै चुप बस्नुभएको छ ।