• १२ साउन २०८१, शनिबार

ज्यान जोखिममा राखेर काठदाउरा सङ्कलन

blog

इनरुवा समाचारदाता 

इनरुवा, साउन ४ गते  । सप्तकोशी नदीमा सुनसरी र सप्तरीका कोशी आसपास क्षेत्रमा बाढी र पानीमा बगेर आउने काठदाउरा सङ्कलनमा स्थानीयको भिड लागेको छ । कोशी नदी किनारमा भाला, डोरी, डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा लागेकाको भिड बढेको हो । 

असारदेखि भदौसम्म कोशी नदीमा बाढी आउन सक्ने र डुबान हुन सक्ने भएकाले कोशी किनारमा आवतजावत तथा नाउ सञ्चालनमा समेत सरकारले रोक लगाएको भए पनि त्यसको बेवास्ता गर्दै नाउ÷डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा स्थानीय जुटिरहेका छन् ।

स्थानीय देवराज यादवले दैनिक सयौँको सङ्ख्यामा कोशी नदी किनारदेखि कोशी ब्योरज पुलसम्ममा काठदाउरा सङ्कलनमा स्थानीय जुट्ने गरेको बताउनुहुन्छ । वराहक्षेत्र नगरपालिकाको राजाबास, महेन्द्रनगर र मधुवन क्षेत्रमा काठदाउरा सङ्कलन गर्नेको भिड लागेको स्थानीय दिनेश मण्डलले जानकारी दिनुभयो । 

वराहक्षेत्र नगरपालिकाको राजाबास घाटमा मात्रै दैनिक पाँचदेखि ११ वटा नाउ काठदाउरा सङ्कलन गर्न प्रयोग हुने गरेको छ । प्रतिनाउमा पाँच जानका दरले एक पटकमा ५५ जनासम्म कोशीमा पस्ने गरेकोे अर्का स्थानीय सन्तोष चन्द्रवंशीले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जलमार्गमा निषेध गरिएकोले कोही कसैले निर्णयविरुद्ध गरेको भए कारबाही हुने प्रतिक्रिया दिनुभयो ।