• ३ भदौ २०८१, सोमबार

प्रमसँग प्रश्नोत्तर साउन ७ मा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ४ गते । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो । 

सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ । 

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । सोही समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन् । यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ । एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।

सभामुख र दलबिचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक चलाउने उल्लेख छ । यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ । दोस्रो सातामा १३, १४ र १५ मा पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव छ । औपचारिक रूपमा कार्यतालिका शुक्रबार टुङ्गिने छ ।  प्रश्नोत्तरलगायतका दिनबाहेक आकस्मिक, शून्य र विशेष समय पनि सञ्चालत हुने छन् । यस्तै यसबिचमा विधायन व्यवस्थापन, सुरक्षण मुद्रणलगायतका विधेयकलाई पनि अघि बढाइने छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पनि अघि बढाउने गरी कार्यतालिकामा समावेश छ । 

कार्यतालिकामा समावेश नभए पनि आकस्मिक रूपमा कुनै विधेयक अघि बढाउन सकिने छ । यस्तै मन्त्रीहरूले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन चाहे समय उपलब्ध हुने छ । संसदीय अभ्यास अनुसार विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखले समय माग गरेमा दिनुपर्ने छ । विषयवस्तु हेरेर आकस्मिक समय पनि निर्धारण हुने छ ।