• ४ साउन २०८१, शुक्रबार

देश अप्ठेरोमा पर्दा काँग्रेस एमाले एक ठाउँमा : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौं, साउन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

२०४६ सालमा पञ्चायत फाल्न, २०६२–६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएका कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो । 

ठुला राजनीतिक दल एकताबद्ध हुनुपर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नुभयो । ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’ उहाँले भन्नुभयो । देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएका कारण विकास र समृद्धिको काम अहिले अवरुद्ध अवस्थामा रहेको गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिको आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्नुपर्छ’ उहाँले भन्नुभयो । उहाँले अहिले बजेट आइसकेकाले धेरै ठुलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउनका लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । ‘सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्ने काममा हामी लाग्छौँ’ उहाँले भन्नुभयो । 

सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने काममा आफूहरूको ध्यान जाने उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताका कारण अवसरवादी गठबन्धन भइरहेकाले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउन आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।