• ११ मंसिर २०८१, मङ्गलबार

आयोजना बैङ्कलाई लागू गर्न सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । फाइल तस्बिर

कास्की, साउन ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैङ्कका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उहाँले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको गुनासो सुन्नु परेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले विशेष गरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद, कर्मचारी तथा राजनीतिक नेतृत्वको दबाब बढी हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा गरौँ भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाइदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाइदेऊ भन्छ, त्यसपछि गाउँ जाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन् ।”

आयोजना बैङ्क भएमा व्यावहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरुपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । “आयोजना बैङ्कको अवधारणा राम्रो भए पनि लागू गर्न व्यावहारिकरुपमा कठिन कठिनाइ छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ”, मुख्यमन्त्रीले भन्नुभयो । मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश नीति तथा योजना आयोगले प्रदेशको नीति निर्माण र योजना तर्जुमाको प्रक्रियालाई व्यावहारिक र सन्तुलित बनाउन तथा योजनाको वैज्ञानिक ढङ्गबाट छनोट एवम् प्राथमिकीकरणका लागि आयोजना बैङ्कको अवधारणा ल्याएको छ ।

आयोजना बैङ्क तयारीका लागि आयोजनाको पहिचान, लेखाजोखा र आयोजना छनोट तथा प्राथमिकीकरण गरी तीन प्रमुख चरण रहने अवधारणा पत्रमा उल्लेख छ । योजनाका लागि बजेट विनियोजन भएपछि मात्र सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेजस्ता परिपाटीका कारण ठुला एवम् गौरवका आयोजना अलपत्र परेको अवस्थामा आयोजना बैङ्कको योजनाअघि सारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताउनुभयो ।

“प्रदेशका महत्त्वपूर्ण आयोजन पहिचान एवं छनोटको निश्चित मापदण्ड तयार गरी सोही बमोजिम आयोजना छनोटको प्रक्रिया थालनी गर्ने उद्देश्य राखिएको छ”, देवकोटाले भन्नुभयो । योजना तथा पूर्वाधार विज्ञ मनिरामसिंह महतले आयोजना बैङ्कको अवधारणा, आयोजना बैङ्कको सुदृढीकरणका लागि विषयगत मन्त्रालयको भूमिका, आयोजना तयारी, लेखाजोखा, छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो । रासस