• ३ साउन २०८१, बिहिबार

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

blog

खानेपानीमन्त्री प्रदीप यादव । फाइल तस्बिर

काठमाडौँ, साउन ३ गते । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना-२ बारे जानकारी लिने क्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । 

उहाँले भन्नुभयो,“हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।” मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । “म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो”, उहाँले भन्नुभयो, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनुपर्छ ।” रासस