• ३ साउन २०८१, बिहिबार

खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी

काठमाडौँ, साउन ३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री चौधरीले मन्त्रालय मातहतका निकायहरूलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताउनुभयो । उहाँले ऐन, कानुनहरूको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

‘‘तपाईँहरू सम्पूर्ण साथीहरूलाई यो विश्वास दिलाउन चाहन्छु । यो भरोसा दिलाउन चाहन्छु । हाम्रो यो कार्यकालमा तपाईँहरू ढुक्क भएर राम्रो काम गर्नुस् । यहाँका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता छ । सुशासनमा ध्यान दिन आग्रह गर्दछु । हाम्रो एउटै चाहना छ, काम गर्नुस्, राम्रो काम होस् ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘सुशासन कायम होस् । ऐन, कानुनहरूको परिपालना गर्न सक्नुभएन भने ढिलो चाँडो आफूलाई नै अप्ठ्यारो हुन्छ । बेरुजुको चाङ छ । अस्तिमात्रै बेरुजु हेर्दा ८५ प्रतिशत थियो । कागज मिलेको छैन भने कागज मिलाइदिनुस् । साथी भाइले केही रकम तिर्नु छ भने तिर्दिनुस् । छैन भने दिल खोलेर हिँड्नुस् । यहाँका बेरुजुको विषयमा सार्वजनिक लेखा समितिमा आउँछ ।’’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव १९ औँ एसियाली खेलकुद सकिए लगत्तै २० औँ एसियाली खेलकुदका लागि मिसन २०२६ भनेर अघि बढाएको उहाँले बताउनुभयो । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रूपमा अघि बढाएको उहाँ जिकिर गर्नुभयो ।

मन्त्री चौधरीले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अङ्कको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताउनुभयो । उहाँले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताउनुभयो ।