काठमाडौँ, साउन ३ गते। नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ। चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र कलाकार दयाहाङ राई छन्। कलाकार पूजा चन्द, ऋचा घिमिरेले पनि अभिनय गरेका छन्।
‘साँघुरो’ चलचित्रका निर्देशक जोएस पाण्डे, अदिति प्याकुरेलका साथै हलिउडका कलाकार ब्रुस डर्न पनि चलचित्रको महत्त्वपूर्ण भूमिकामा छन्। हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो। यसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन्।
निर्माता अविरल थापाले चलचित्रमा धेरै संयोग रहेको बताउनुभयो। सुरुमा यो चलचित्रको टिमले पहिला बलिउडका लोकप्रिय अभिनेताहरू नसीरूद्दीन शाह र अनुपम खेरलाई स्कृप्ट पढ्न दिएको थियो। दुवैले स्क्रिप्ट मन पराएका थिए। पछि मन हुँदाहुँदै पनि नसीरूद्दीनले प्राविधिक कारण आफूले काम गर्न नसक्ने बताए। त्यसपछि अनुपम खेर र आदिल हुसेनलाई पनि अभिनयका लागि प्रस्ताव गरिएको थियो।
नाटक निर्देशक विमल सुवेदी र यो चलचित्रका सह–निर्माता शैलेश मैनालीले मुम्बई पुगेर अनुपम खेरलाई प्रारम्भिक सहमति पनि गर्नुभयो। तर, विभिन्न कारणले निर्देशकले चलचित्रको सुन्दरतालाई बिग्रन दिनुभन्दा नेपाली कलाकारसँगै काम गर्न उचित हुने भन्दै खेरसँगको अध्याय बन्द गरेका निर्माता थापाको भनाइ छ।
त्यसपछि चलचित्रमा जोडिनुभयो कलाकार हरिवंश आचार्य। “हरिवंशले काम गर्दा उक्त पात्रले अझ जीवन्तता पायो भन्ने लाग्छ”, उहाँले भन्नुभयो। अर्को संयोग यो चलचित्रमा भारतकी नाट्य क्षेत्रकी लोकप्रिय कलाकार एवं प्राध्यापक अनुराधा मजुमदार जो नेपालका लागि परिचित नाम हो। उहाँ आफ्ना विद्यार्थी समेत रहेका निर्देशक विनोद पौडेलको आग्रहमा स्वयंसेवकको रूपमा सेमिनारमा सहभागी हुन, साइट भिजिट गर्न र चलचित्र निर्माण प्रक्रियाको मेन्टरिङको लागि २०२४ को जनवरी मै अमेरिका पुग्नुभयो।
चलचित्र छायाङ्कनकै क्रममा एक कलाकार जगमाया सुवेदी बिरामी हुनुभयो। जो लामो समय क्यान्सरदेखि ग्रसित हुनुहुन्थ्यो। त्यसैले उनले काम गर्नै नसक्ने अवस्था आएपछि निर्देशकको विशेष अनुरोधमा छाङ्याकनमा आउन लागेको अवरोधलाई अनुराधाले अभिनय गरिदिएर समाधान गरिदिनुभएको थियो। उहाँले बिना पारिश्रमिक अभिनय गरिदिएको निर्माता अविरलले बताउनुभयो।
अनुराधा कलाकारको रूपमा कहिल्यै चलचित्रमा अनुबन्ध हुनुभएको थिएन। पछिसम्म पनि उहाँले विविध कारणले काम गर्न चाहनुभएको थियो। तर तत्काल अरू विकल्प नभएपछि परिस्थितले अभिनय गर्नुपर्ने अवस्थामा पुग्नुभयो।
निर्देशक विनोद पौडेल अनुराधाले लगाएको गुन आफूले बिर्सनै नसक्ने बताउनुहुन्छ। यस्ता धेरै संयोग र घटनाबिच आफूले चलचित्रको गुणस्तर र मर्म मर्न नदिएर जीवनकै विशेष चलचित्र बनाउने उहाँ बताउनुहुन्छ। सानो बजेटमा धेरैको सहयोगले बनेको चलचित्रले विश्वबजारमा नेपाली चलचित्रको उपस्थिति जनाउने निर्माण टिमको अपेक्षा छ। चलचित्र सन् २०२४ को अन्त्यसम्ममा विश्वभर रिलिज हुने निर्माणपक्षले जनाएको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                