• ३ साउन २०८१, बिहिबार

संसद्का आगामी कार्यक्रमबारे प्रमुख सचेतकसँग सभामुखको छलफल

blog

सभामुख देवराज घिमिरे संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुहुँदै ।

काठमाडौँ, साउन ३ गते । सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

बिहीबार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संसद्का आगामी कार्यक्रमबारे छलफल गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग ६, ७ र ८ गते संसद् चलाउने, ९, १० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुनः संसद् सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनाएको उहाँले बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले समितिमा विचाराधीन विधेयकमा घनीभूत छलफल चलाएर चाँडोभन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिट्टै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिट्टै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाउनुभएको जानकारी दिनुभयो ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसद्को कार्यतालिकाका बारेमा छलफल गर्नुभएको बताउनुभयो । उहाँले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताउनुभयो । उहाँले शुक्रबार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुङ्ग्याउने जिकिर गर्नुभयो ।

उहाँले भोलि (शुक्रबार) १ बजे कार्य व्यवस्थाको बैठक बस्ने भन्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘हरेक १५ दिनमा कार्यतालिका बनाउने हाम्रो अभ्यास छ, त्यही अभ्यासअन्तर्गत भोलि बैठक बस्छौँ । ६ गते प्रधानमन्त्रीले विश्वासको मतका लागि समय माग्नुभएको छ, त्यसअन्तर्गत अघि बढ्छौँ । ७ गते हाम्रो नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यो कार्यक्रम ७ गते अघि बढ्छ ।’’

उहाँले कार्य व्यवस्था समितिको बैठकबाट संसद्का आगामी कार्यक्रम अघि बढाइने बताउनुभयो ।