• ३ साउन २०८१, बिहिबार

विज्ञान प्रयोगशालाले विद्यार्थी उत्साहित

blog

विद्यालयको विज्ञान प्रयोगशाला उद्घाटन गर्नुहुँदै सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादव।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन ३ गते। महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा रहेको राष्ट्रिय जनता आधारभूत विद्यालय शिवनगरमा विज्ञान प्रयोगशाला निर्माणले विद्यालयमा अध्ययनरत विद्यार्थी उत्साहित भएका छन् ।

विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण भएपछि विद्यार्थी अध्ययनमा हौसिएको सोनमा गाउँपालिकाको शिक्षा शाखा सह–संयोजक धर्मेन्द्रकुमार यादवले जानकारी दिनुभयो।

विद्यालयमा टेलिस्कोप, माइक्रोस्कोप, विभिन्न ग्याँस बनाउने सामग्रीलगायतका विज्ञान प्रयोगशालामा काम लाग्ने छ लाख ५० हजारको सामग्री विद्यालयमा ल्याइएको छ।यसले विद्यालयमा कक्षा ५ देखि कक्षा ८ सम्म अध्ययन गर्दै आएका विद्यार्थी लाभान्वित भएको शिक्षा सह–संयोजक यादवले बताउनुभयो ।

यस अघि सोनमा गाउँपालिकाले विद्यालयमा कम्प्युटर प्रयोगशाला समेत बनाएर विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान गरेको थियो।

विद्यालयका प्रधानाध्यापक दयाराम यादवले विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला निर्माणले विद्यार्थीलाई पठनपाठनमा राम्रो भएको र विद्यालय अहिले विद्यालय आउन उत्साहित भएको बताउनुभयो।

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि आफू प्रयासरत रहेको बताउनुहुँदै आफूले केही दिन अगाडि मात्रै जनता आधारभूत विद्यालय शिवनगरमा विज्ञान प्रयोगशालाको उद्घाटन गरेको बताउनुभयो।

उहाँले गाउँपालिकाको एकल प्रयासबाट मात्रै पालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्न सम्भव नभएको बताउनुहुँदै यस कार्यमा सङ्घीय सरकार, प्रदेश सरकार, शिक्षासम्बद्ध व्यक्तित्व, शिक्षक तथा अभिभावकलाई सहयोग गर्न आग्रह गर्नुभयो।