• १३ साउन २०८१, आइतबार

संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छु : महान्यायाधिवक्ता बडाल

blog

महान्यायाधिवक्ता रमेश बडाल पदभार ग्रहण गर्नुहुँदै ।

काठमाडौँ, साउन ३ गते । महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरू गर्ने बताउनुभयो । उहाँले शिरमा संविधान र कानुनलाई राखेर आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताउनुभयो । अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘संविधानले जे दायरा निर्धारण गरेको छ । त्यो दायराअनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाही गर्नेछ । यो काम गरिरहँदा हामीले सबैभन्दा शिरमा संविधान र कानुनलाई राख्नेछौँ । संविधान र कानुनले जे निर्दिष्ट गर्छ, त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट कुनैपनि काम हुँदैन । अभियोजन गर्दा हामीले जो व्यक्ति दोषी छ, ती व्यक्तिलाई मात्रै अभियोजन गर्ने, निर्दोष व्यक्तिलाई अभियोजन नगर्ने, अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्नेछौँ ।’’

महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताउनुभयो । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको बताउनुभयो ।