• १३ साउन २०८१, आइतबार

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नका लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेश फर्काउन सकिने बताउनुभयो । उहाँले उद्योग मन्त्रालय नीतिगत रूपमा अहिले पनि ओझेलमा परेको जिकिर गर्नुभयो ।

मन्त्री भण्डारीले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले मन्त्रालयले नीतिगत सुधारका पक्षहरूलाई विशेष महत्त्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनपछि लगानी सहजीकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताउनुभयो । उहाँले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरू सञ्चालन हुने ठाउँमा पुगेको बताउनुभयो ।

उद्योग मन्त्री भण्डारीले सुर्तीजन्य पदार्थहरूको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भए पनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरू सञ्चालन गरी रहेको जानकारी दिनुभयो । उहाँले छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताउनु भयो ।

उद्योग मन्त्री भण्डारीले नेपाल अझै सुर्तीजन्य पदार्थहरूको प्रयोगसम्बन्धी ऐन, कानुन र नीतिमा अभ्यस्त बन्न नसकेको बताउनुभयो । उहाँले सुर्तीजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भएपनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले कोभिडपछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठुलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा सङ्कुचन आएको जिकिर गर्नुभयो ।