• ३ साउन २०८१, बिहिबार

वडा स्वास्थ्य क्लिनिकबाट ९२ हजार बढीले लिए सेवा

blog

वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकमा आँखा जाँच गरिदैँ।

अविनाश चौधरी

धनगढी, साउन ३ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा सञ्चालन गर्दै आएको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकमा ९२ हजार ३४२ जनाले सेवा लिएका छन्। 

यो सङ्ख्या दुई वर्षको अवधिमा सेवा लिनेको रहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ। २०७९ साउन १ गतेबाट धनगढी उपमहानगरपालिकाले प्रत्येक वडामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेको थियो। 

सो कार्यालयका अनुसार दुई वर्षमा ४५ हजार ३५९ जनाले फिजिसियन, १७ हजार आठ सय ४८ जनाले स्त्री तथा प्रसूति सेवा लिएका छन्। यसैगरी, २६ हजार ६५ जनाले आँखा परीक्षण तथा उपचार सेवा, दुई हजार ९६१ जनाले दन्त उपचार सेवा लिएका जनाइएको छ। त्यस्तै, १०९ जनाले हाडजोर्नी, सात हजार ८५ जनाले प्रयोगशाला, चार हजार ९८० जनाले इसीजी, १० हजार ४०६ जनाले भिडियो एक्स-रे सेवा लिएका छन्। नौ हजार २४९ जना गर्भवती महिला पनि उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो।  

आर्थिक अवस्था कमजोर भएकाहरूले रोग च्यापेर बाँच्नु पर्ने अवस्थाको अन्त्यका लागि उपमहानगरपालिकाले विशेषसहितको निःशुल्क वडा क्लिनिक सञ्चालन गर्दै आएको नगर प्रमुख हमालले बताउनुभयो।