• ३ साउन २०८१, बिहिबार

सरकारी अस्पतालमै शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

blog

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । फाइल तस्बिर

काठमाडौँ, साउन ३ गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । 

अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात नौ हजार छ सय महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए । आव २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । उहाँले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रसव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताउनुभयो । 

यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा.अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।” अस्पतालका निर्देशक डा.अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताउनुभयो । “विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ” उहाँले भन्नुभयो, “तर हामी कहाँ ४० बिरामी बराबर तीन नर्स कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।”

उहाँका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा.अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिनुभयो । 

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउँदा अत्यधिक दुःखाइ हुनेलाई दुःखाइरहित सेवा प्रदान गर्ने उहाँको भनाइ छ । “शिशु जन्माउने क्रममा अत्यधिक दुःखाइ भयो भने शल्यक्रियाको सट्टा दुःखाइ कम गराउने सेवा दिन्छौँ” उहाँले भन्नुभयो, “यो सेवा दिनमा हामीले दुईदेखि तीन जनासम्मलाई मात्र दिनसक्छौँ ।” अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रियामार्फत शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृ मृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको छ । रासस