• ३ साउन २०८१, बिहिबार

दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भएको सहमतिका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र एमालेका बिचमा भएको सहमति नलुकाइएको पनि बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि दुई ठुला दलहरू मिलेर सरकार बनाएको जानकारी दिनुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘‘कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भए पछि अब हामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुईवटा ठुला दलहरू र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झण्डै डेढ वर्षभन्दा अलि बढी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ । यो खुल्ला छ । त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो । यसलाई सफल बनाउने हो । अब यसलाई असफल हुने छुट छैन । सफल बनाउनुपर्छ ।’’

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताउनुभयो ।