• ३ साउन २०८१, बिहिबार

रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँ छ : मन्त्री खड्का

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताउनुभएको छ ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू रहेको बताउनुभएको हो । उहाँले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउनुभयो ।

मन्त्री खड्काले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिनुभयो । त्यस्तै केही दिनपछि बङ्गलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने जानकारी उहाँले दिनुभयो ।

मन्त्री खड्काले इन्जिनियरहरू कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरू अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले इन्जिनियरहरूलाई द्विपक्षीय अथवा त्रिपक्षीय सम्झौता गरेर काम गर्न सुझाव दिनुभयो ।

‘‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरू छ । हामी त्यतापट्टी कार्य गर्न उन्मुख छौँ । अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ । हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दछौँ । आउने २८ तारिख बङ्गलादेशसँग ४० मेघावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दछौँ । मलाई लाग्छ हामी यसलाई डबलका हिसाबमा बिक्री गर्नसक्छौँ । तर हामीसँग तीन हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रोजेक्टमा इन्जिनियर साथीहरू इन्चार्ज भएर जाने । दुई चार महिना काम गर्ने । अर्को प्रोजेक्टले सुविधा बढी दिए छोडेर हिँडिदिने र त्यो प्रोजेक्ट अलपत्र पर्ने । यो समस्या छ । कन्ट्रक्शनमा काम गर्ने साथीहरू द्विपक्षीय र त्रिपक्षीय सम्झौता गरेर काम गर्नुस् । अधिकारका कुराहरू पनि राख्नुस् ।’’

मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरूले मौरीको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।