• १३ साउन २०८१, आइतबार

नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ साउन ३ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफूहरू सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो । अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउनुहुँदै उहाँले अहिले देशको स्थितिलाई महसुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको औँल्याउनुभयो ।

उहाँले मुख्य दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउन नहुने तर्कका बिचमा पनि अहिले दुई ठुला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताउनुभयो ।

‘‘हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौथो चोटि फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले देश साँच्चै अप्ठ्यारो स्थितिमा रहेको महसुस गरेका छौँ । यो स्थितिको सामना कसरी गर्ने ? हेरेर बस्ने की समाधानका लागि अघि बढ्नेभन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘तर्क छन् नि मुख्य ठुला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरङ्कुशता बढ्छ आदी । हामी मेजर पार्टीहरू बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ ।’’ 

उहाँले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेको पनि बताउनुभयो ।