• ३ साउन २०८१, बिहिबार

जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती

blog

वडा सदस्य बुद्धिविर पुन तरकारी खेतीमा काम गर्नुहुँदै । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन ३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । 

उहाँले विहानै तरकारी खेतीको काम सकेर दिउँसो सामाजिक कार्यमा जुट्नुहुन्छ । पुन सामाजिक र कृषि पेशामा गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ । २०७९ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएपछि सामाजिक कामका साथै तरकारी खेतीलाई पनि उहाँले निरन्तरता दिनुभएको छ । 

अहिले १५ रोपनी क्षेत्रफलमा बन्दागोभी, काउलीलगायत ताजा तरकारी खेती गर्नुभएको छ । साथै वडा सदस्य पुनले पाँचरोपनी जमिनमा किबी खेती पनि सुरु गर्नुभएको छ । 

कृषि पेशाका साथै वडाको विकास निर्माणमा सहजीकरण गर्ने र गाउँ समाजमा पर्ने अन्य सामाजिक काममा पनि सघाउने गरेको छु उहाँले भन्नुभयो, ‘‘वडाको जनप्रतिनिधिमा निर्वाचित भए पनि आफ्नो कृषि पेशालाई निरन्तरता दिएको छु । जनप्रतिनिधि भएपछि समाजमा राम्रो गरेर सकारात्मक सन्देश दिन मैले तरकारी खेतीलाई थप विस्तार पनि गरेको छु ।’’

वैदेशिक रोजगारीका क्रममा पाँचवर्ष कतारमा बिताउनुभएका पुनले गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो । गाउँमा कृषि पेशामा भविष्य देखेर कतारबाट फर्किएको हुँ कृषक पुनले भन्नुभयो, ‘‘गाउँघरका युवाहरु विदेश जाने लहर चलेका बेला म भने विदेशबाट गाउँ फर्किएर कृषि कर्ममा लागे । वडा सदस्यमा निर्वाचित भएसँगै व्यस्तता बढे पनि परिवारको सहयोगमा तरकारी उत्पादनलाई निरन्तरता दिएको छु ।’’ 

कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने १५–१६ वर्षको अनुभव रहेको उहाँले सुनाउनुभयो । ताजा तरकारी विक्री गरेर वार्षिक रुपमा ५ देखि ७ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको तरकारी सदरमुकाम बेनी र पोखरासम्म पुर्‍य ाएर विक्री गर्ने गरेको पुनले बताउनुभयो । 

वडा सदस्य भएकाले गाउँपालिकाबाट पाउने तालिम, अनुदान र उपकरणलगायतका अवसरबाट आफू वञ्चित भएको उहाँले गुनासो पोख्नुभयो । ‘‘व्यावसायिक कृषि पेशा गर्ने म जनप्रतिनिधि भएका कारण गाउँपालिकाबाट पाउने कृषि अनुदान, उपकरण लगायतका सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ’’ उहाँले भन्नुभयो । 

कृषि पेशामा राम्रो गरेकालाई जनप्रतिनिधि भए पनि अवसरबाट बञ्चित गर्न नहुने उहाँको भनाइ छ । बर्खायाममा ग्रामीण सडकहरु अवरुद्ध हुने भएकाले तरकारी बजारमा पुर्‍य ाउन समस्या भएको उहाँको भनाइ छ । वडा सदस्य पुनको सिको गर्दैै अहिले टिकोट गाउँमा मात्र ३० घरपरिवारले व्यावसायिक तरकारी खेती गरेका छन् ।  

गाउँका योजना, बैठक तथा गाउँपालिकाको अन्य काममा कहिलेकाहीं त दिनभर पनि खटिनुपर्ने भएकाले तरकारी खेतीमा समय दिन समस्या भएको उहाँले बताउनुभयो । दिउँसोमा सामाजिक काममा जानुपर्दा बिहानै उठेर तरकारी खेतीको काम सकेर दिउँसो बैठकमा पुग्ने गरेको पुनले बताउनुभयो ।