• ३ साउन २०८१, बिहिबार

सर्पदंशका बिरामी बढे

blog

नेपालगन्जस्थित भेरी अस्पतालको इमर्जेन्सी विभाग । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन ३ गते । पछिल्लो समय नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पदंशका बिरामीहरु बढेका छन् । भेरी अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले पानी परेपछि सर्पले टोकेका बिरामीहरु उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या बढेको बताउनुभयो ।

असार महिनाको अन्तिमतिर सर्पदंशका बिरामीहरु ह्वात्तै बढेको उहाँको भनाइ छ । “प्रायः गरी वैशाखदेखि सर्पले टोकेका बिरामीहरु उपचारका लागि आउने गर्नुहुन्छ, तर विशेषगरी असारमा पानी परेदेखि अन्तिम साता मात्र धेरै बिरामीहरु उपचारका लागि आउनुभएको छ,” डा.रिसालले भन्नुभयो ।

उहाँका अनुसार उपचारमा आएका बिरामीहरुमध्ये अधिकांशलाई करेत सर्पले टोकेको पाइएको छ । “उपचारमा आएकामध्ये अधिकांशलाई करेत सर्पले टोकेको पाइएको छ, बालबालिकादेखि प्रौढसम्मका बिरामी आउनुभएको छ, सबैलाई घरमै टोकेको पाइएको छ,” उहाँले भन्नुभयो ।

“सर्पले टोक्यो भनेर उपचार गर्न आउने सबैलाई सर्पले टोकेको हुँदैन, कतिपयले कुनैले टोक्यो भन्ने नै जानकारी हुँदैन, सर्पले टोकेपनि कत्तिको विषालु सर्पले टोक्यो र कति विष शरीरभित्र पस्यो भन्नेमा निर्भर हुन्छ,” डा.रिसालले भन्नुभयो, “शंकास्पद बिरामीलाई हामीले २४ घण्टा अव्जर्भेसनमा राख्छौं, २४ घण्टासम्म कुनै लक्षण नदेखिएमा घर पठाउँछौं ।”

उहाँका अनुसार साउन २ गतेसम्म भेरी अस्पतालमा सर्पले टोकेर आएका बिरामीमध्ये अस्पतालमा हाल चार जना बिरामीको उपचार भइरहेको छ । तीन जना बिरामीको आइसियुमा र एक जनाको इमर्जेन्सी विभागमा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।

गत वैशाखदेखि साउन २ गतेसम्म भेरीमा ६७ जना सर्प लगायत शङ्कास्पद वस्तुको टोकाइबाट उपचार गर्न आएको इमर्जेन्सी विभागका स्वास्थ्यकर्मी मदन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ६७ जनामध्ये २१ जनालाई विषालु सर्पले टोकेको प्रमाणित भएपछि औषधी उपचार गरिएको छ । २१ जनामध्ये एक जनालाई वैशाख महिनामा सर्पले टोकेको हो भने बाँकी २० जनालाई असार महिना यता सर्पले टोकेर उपचारार्थ अस्पताल आएका बिरामी हुन् ।

यस वर्ष उपचारका क्रममा अस्पतालमा कुनै पनि बिरामीको मृत्यु नभएको उहाँले जानकारी दिनुभयो । तर केही बिरामीको भने उपचारका क्रममा अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको छ । वृद्धवृद्धादेखि तीन वर्षीय बालकसम्मलाई सर्पले टोकेर उपचार गर्न अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।