• ३ साउन २०८१, बिहिबार

बाढीपहिरोबाट प्रभावित परिवारलाई टेन्ट र खाद्यन्नको समस्या

blog

आठबिसकोट नगरपालिका १२ को बाढी प्रभावित क्षेत्र । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, साउन ३ गते ।
रुकुमपश्चिममा बाढीपहिरो तथा मनसुनजन्य विपदबाट प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनमा राहत सामग्रीको अभाव भएको छ । उनीहरुको आश्रयस्थल निर्माण तथा खाद्यन्न व्यवस्थापनमा समस्या भएपछि विभिन्न निकायमा सहयोगका लागि आह्वान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अहिलेसम्म तीन वटा पालिकाका एक हजार ७०९ घरपरिवारको व्यवस्थापनका लागि टेन्ट लगायतका राहत सामग्री माग गरिएको बताउनुभयो । उहाँका अनुसार प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनका लागि जिल्ला विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन समितिका बैठकबाटै सहयोगको आह्वान गरिएको छ ।

तीन पालिकामा मात्र करिब एक हजार सात सय परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । ती परिवारको अस्थायी आश्रयस्थल तत्काल व्यवस्थापनका लागि टेन्ट लगायतका सामग्रीको अभाव रहेको छ ।

प्रजिअ पन्तले आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका करिब एक हजार ७०९ घर परिवारका लागि टेन्टलगायतका अत्यावश्यक सामग्री माग गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँ र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष उक्त सामग्रीको माग गरिएको हो । यसका साथै विभिन्न गैरसरकारी संघ, संस्था र निजी क्षेत्रलाई समेत टेन्ट तथा खाद्यन्न लगायतका सामग्रीका लागि आह्वान गरिएको छ ।

यी तीन वटा पालिकाका ४८ घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् । आठबिसकोटमा एक हजार ५५७, बाँफिकोटमा ५४ र मुसीकोटमा ५० घर परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । यस बाहेक जिल्लाको सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिका समेतमा सयौं घरपरिवार र बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।