• २ साउन २०८१, बुधबार

सुनसरीमा ७८ प्रतिशत रोपाइँ

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ का किसानले धान रोपाइँ गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, साउन २ गते । सुनसरीमा धान लगाउने खेतीयोग्य जमिनमा अहिले सम्ममा ७८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मनसुनी वर्षा जेठ अन्तिम साताबाट नै सुरु भएकोले सिँचाइ सुविधा भएको र नभएको सबै ठाउँमा रोपाइँ समयमा नै भएकाले बुधबारसम्ममा ७८ प्रतिशत रोपाइँ भएको हो। 

सुनसरीमा गत वर्ष असार ३१ गतेसम्ममा ५२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो । यसपालि भने कोशी प्रदेश भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयमा कृषि ज्ञान केन्द्र सुनसरीले गरेको रिर्पोटिङ् अनुसार साउन २ गतेसम्ममा ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुनसरी जिल्लामा रहेको धान खेती हुने ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ४२ हजार ९०० हेक्टर जग्गा अर्थात ७८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

धान रोपाइँका लागि समयमै वर्षा भएकोले यसपाली सन्तोषजनक रोपाइँ सम्पन्न भएको र केही ठाउँमा बाँकी धान रोपाइँ धमाधम भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । विगतका सिजनमा पनि कम रोपाइँ हुनुमा समयमै वर्षा नुहुनु र बाँझो खेती हुनु प्रमुख कारण रहेकोमा यसपाली समयमा वर्षा भएकाले धेरै किसानलाई रोपाइँ गर्न सहज भएको उहाँले बताउनुभयो । 

सिंहका अनुसार जिल्लामा साउनको तेस्राे हप्तासम्म सात प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । कृषकले साउन अन्तिमसम्म रोपाइँ गर्ने हुनाले आगामी दिनमा धान रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा वृद्धि हुने आफूहरुको विश्वास रहेको सिंहले जानकारी दिनुभयो ।

आकाशेपानी, बाेरिङ र नहरको सिँचाइबाट यस क्षेत्रमा कृषकहरुले धानखेती लगाउने गर्दछन् । यसपालि भने बाेरिङ र नहरको सिँचाइबाट भन्दा आकाशेपानीले गर्दा धेरै किसान समयमा रोपाइँ सम्पन्न गर्न सफल भएको यदुवंशी बहुउद्देश्य कृषक समूहका अध्यक्ष जसलाल यादवले बताउनुभयो । 

अर्का किसान मुसहरु साहुका अनुसार युवाहरुको वैदेशिक रोजगारतर्फ आकर्षित हुनु, आधुनिक प्रविधिको प्रयोग नहुनु, धानखेती गर्ने किसानको आकर्षण अन्य नगदेबालीतर्फ हुनुले विगतमा समयमै रोपाइँ हुन नसकेको अवस्था रहेकोमा यसपाली लगातार एक महिनासम्म वर्षा भएकाले धान रोपाइँ गर्न सहज भएको हो ।

जिल्लाको गढी गाउँपालिका र हरिनगर गाउँपालिकामा भने ९४ प्रतिशत बढी रोपाइँ भएको छ भने अन्य स्थानीय तहमा अनुपातिक ७० देखि ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।