• ४ जेठ २०८१, शुक्रबार

कीर्तिपुरमा गठबन्धन दलबीचमै चुनावी प्रतिस्पर्धा हुँदै

blog

काठमाडौं, बैशाख १९ गते । काठमाडौको कीर्तिपुर नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका दलहरुबीचनै प्रतिस्पर्धा हुँदैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनदल बीचमै प्रतिस्पर्धाका लागि चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँहरु आ–आफ्नो प्रतिबद्धता पत्र मतदाता समक्ष राख्दै घरदैलो पुग्नुभएको हो । 

काँग्रेस र जसपा पार्टीबीच गठबन्धन

कीर्तिपुर नगरपालिकाका प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजकुमार नकर्मी उम्मेदवार हुनुहुन्छ भने उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्य ‘सुनीता’ हुनुहुन्छ ।

नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने अवस्था हुँदा हुँदै पनि गठबन्धन हुन नसकेको नकर्मी बताउनुभयो । विगतमा एमालेको नेतृत्वले कीर्तिपुरबासीको माग, भावना अनुरुप काम गर्न नसकेको उहाँको भनाइ छ । पार्टीले उठाएको मुद्दा नै चुनाव जित्ने आधार हो, उहाँले भन्नुभयो ।

‘जनता परिवर्तन चाहन्छ, परिवर्तनको सम्वाहक हामीले स्थानीयको पक्षमा प्रतिबद्धता व्यक्त गरेर अघि बढेका छौं । यो प्रतिबद्धता पत्रमा नागरिकले साथ र सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेकपा (एमाले) बाट केशरत्न बज्राचार्य

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पार्टीबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार केशरत्न बज्राचार्य हुनुहुन्छ । उपप्रमुखमा एमालेका बिन्दु महर्जन हुनुहुन्छ । स्वस्फूर्तरुपमा एमाले उत्साहका साथ चुनावी प्रतिपर्धामा अघि बढेको बज्रचार्य बताउनुहुन्छ । पार्टीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य अन्तर्गत समृद्ध  कीर्तिपुर बनाउने आधार तयार गरिने उहाँको भनाइ छ । यस अघिको एमालेको स्थानीय सरकारले तय गरेको आधारमा अघि बढ्दै जनमुखी, लोककल्याणकारी कार्यक्रम अघि बढाउने उहाँको प्रतिबद्धता  छ । 

नेकपा (माओवादी केन्द्र) बाट प्रा.डा. शिवशरण महर्जन

गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट पनि कीर्तिपुर नगरप्रमुखमा  प्रा.डा. शिवशरण महर्जनले उम्मेदवारी दिनुभएको छ । आ–आफ्नै स्वार्थगत कुरा भएपछि हामी अलग्गै उठ्ने निर्णय गरेको र स्वतन्त्र सक्षम मत प्राप्त गर्ने उहाँको विश्वास  छ । माओवादीबाट उपप्रमुखमा भने सुशीला बस्नेत हुनुहुन्छ ।

बुद्धिजीवी, प्राध्यापक, मानव अधिकारका साथै शैक्षिक संस्थासँग आबद्ध रहेर काम गरेको अनुभव उहाँसँग छ । सुशासन एवम् भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीवनको विकास, शिक्षा, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता उहाँले मतदातासमक्ष राख्नुभएको छ । 

सेवानिवृत्त जीवन बिताइरहेका महर्जनले प्रमुखमा विजय हासिलपछि आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गर्नुभएको छ । 

एकीकृत समाजवादीबाट बटुकृष्ण थापा

नेकपा (एकीकृत समाजवादी)बाट कीर्तिपुर नगरप्रमुखमा बटुकृष्ण थापा उम्मेदवार हुनुहुन्छ । यसैगरी, सोही पार्टीका कमला महर्जन उपप्रमुखमा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

विगतदेखि एकै खालको नेतृत्वबाट स्थानीयबासी उत्साहित बन्न नसकेको र नयाँ पुस्ताको प्रतिनिधित्व गराउने गरी आफू प्रतिस्पर्धामा होमिएको थापा बताउनुहुन्छ । 

यसअघि एमालेको नेतृत्वले पनि आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको र आफूले पार्टीमा योगदान गरेको लगायत सबै आधारबाट जित्ने आधार तय भएको उहाँको दाबी छ । यहाँका जनताले वामपन्थीका विकल्पमा वामपन्थीलाई नै रोज्छन्, उहाँले बताउनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।