• १ साउन २०८१, मङ्गलबार

तत्काल कुनै निर्णय नलिन माओवादीलाई आग्रह

blog

विराटनगर समाचारदाता

विराटनगर, साउन १ गते । राजनीतिक दलहरूबिच नयाँ गठबन्धन बनेपछि सङ्घीय सरकार परिवर्तन भएको छ तर सङ्घीय गठबन्धनको असर कोशी प्रदेशको राजनीतिमा भने तत्काल देखिएको छैन । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अहिले नै नेकपा (माओवादी केन्द्र) लाई सरकारबाट हटाउने पक्षमा देखिनुभएको छैन । यसले गर्दा कोशी प्रदेशको राजनीति कसरी अगाडि बढ्छ भन्ने अनुमान गर्न केही दिन कुर्नैपर्ने भएको छ । 

नेकपा (माओवादी केन्द्र) को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको सरकार परिवर्तन गर्दा आउन सक्ने संवैधानिक र कानुनी जटिलताका विषयमा अध्ययन गरेर मात्र मुख्यमन्त्री परिपक्व पाइला बढाउने योजनामा रहनुभएको बताइएको छ । 

केन्द्रीय राजनीतिक दलहरूबिच नयाँ गठबन्धन बनाउँदा कोशी प्रदेश सरकार नेकपा (एमाले) को नेतृत्वमा रहने सहमति भएको छ । त्यस सहमति अनुसार ढिलोछिटो कोशी प्रदेशको सरकार नयाँ गठबन्धन अनुसार नै हुने निश्चित छ तर मुख्यमन्त्री कार्कीले भने यस विषयमा पर्ख र हेरको रणनीति अख्तियार गर्नुभएको छ । 

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ गठबन्धन अनुसार मुख्यमन्त्रीलाई अगाडि बढ्नका लागि आफूहरू सरकार छोड्न तयार रहेको आइतबार नै जानकारी गराइसक्नुभएको छ । मुख्यमन्त्री कार्कीले भने हतारमा कुनै निर्णय नलिन आग्रह गर्दै सबै मिलेर जाने अवस्था रहेको बताउनुभएको थियो । 

मुख्यमन्त्री कार्कीले गत वर्ष नै सहमतिको सरकार बनाउन ‘लबिङ’ गर्नुभएको थियो । कोशीका राजनीतिक दलहरूले प्राप्त गरेको मतपरिणामले सबै मिलेर मात्र अगाडि बढ्न सकिने अवस्था रहेको भन्दै उहाँले तत्कालीन अवस्थामा सहमतिको सरकारमा नेपाली कांग्रेसलाई सहभागी हुन पटक पटक आग्रह गर्नुभएको थियो तर त्यतिबेला कांग्रेस सहमत भएन । 

यस अवधिमा पटक पटक बदलिएको गठबन्धनका कारण यो कार्यकालमा माओवादीको सहयोगमा कार्की तेस्रो पटक मुख्यमन्त्री बन्नुभयो । मुख्यमन्त्रीमा समर्थन गर्दा केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल भए पनि कोशी प्रदेशमा गठबन्धन परिवर्तन नगर्ने प्रतिबद्धता जनाउनुभएपछि माओवादीले मुख्यमन्त्रीमा कार्कीलाई समर्थन जनाएको थियो । उक्त राजनीतिक प्रतिबद्धताका कारण पनि मुख्यमन्त्री कार्की माओवादीसहित कांग्रेसलाई सरकारमा सहभागी गराएर अगाडि बढ्ने पक्षमा देखिनुभएको छ । 

त्यसबाहेक मुख्यमन्त्री कार्कीले गत वर्ष सरकार फेरबदल हुने बेलामा काठमाडौँमा पानी पर्दा विराटनगरमा छाता ओढ्ने प्रवृत्तिले सङ्घीयता बलियो नबन्ने बताउनुभएको थियो । उहाँले प्रदेशप्रति जनतामा वितृष्णा फैलिरहेका बेला प्रदेशमा स्थिरता कायम गर्नुपर्ने र प्रदेशलाई केन्द्रीय राजनीतिको छाया बनाउन नहुने धारणा व्यक्त गर्नुभएको थियो । अहिले पनि मुख्यमन्त्री कार्की उक्त दृष्टिकोणमै कायम रहनुभएको बताइएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार अपराह्न भएको छलफलमा पनि मुख्यमन्त्री कार्कीले सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको थियो । माआवादी नेता आङ्बोले भन्नुभयो, “यो सरकार हामीले बनाएका हौँ । नयाँ सरकार बन्ने परिवेश तयार नभएसम्म हामी सरकार छोडेर मुख्यमन्त्रीलाई अप्ठ्यारोमा पार्ने पक्षमा छैनौँ ।” मुख्यमन्त्री पनि सरकारको निरन्तरता र प्रदेश सभालाई पूर्ण अवधि लैजाने विषयमा गम्भीर देखिनुभएको उहाँले बताउनुभयो । 

कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट तीन मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ । मुख्यमन्त्रीसमेत नौ वटा मन्त्रालय रहेको कोशीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्रीमातहत रहेको छ ।  सहमतिको सरकार बनाएर अगाडि बढ्ने मुख्यमन्त्रीको प्रयत्न सफल भए नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले आफ्ना भागमा परेका केही मन्त्रालय छाड्नुपर्ने अवस्था आउन सक्छ । 

सहमतिको सरकार बनाउने विषयमा भने केन्द्रीय गठबन्धनमा रहेको दल नेपाली कांग्रेससँग मुख्यमन्त्रीले अहिलेसम्म कुनै छलफल गर्नुभएको छैन । काँग्रेसले भने माओवादीले सरकार छाडेर बाहिरिनु उपयुक्त हुने बताइरहेको छ ।