• १ साउन २०८१, मङ्गलबार

ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी

blog

जुनकला रानाले फलाउनुभएको ड्रागनफ्रुट ।

बिन्दु थापा 

पाल्पा, असार ३१ गते । तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ । 

एक लाख पचास हजारको लगानी गरेर ड्रागनफ्रुटको व्यवसाय सुरु गरेको रानाले युट्युब हेरेर ड्रागनफ्रुट खेती सुरु गरिएको बताउनुभयो । उहाँले दाङबाट प्रतिबोट ३ सयका दरले ड्रागनफ्रुटको बिरुवा बन्दीपोखरा  ल्याएको बताउनुभयो । 

रानाका अनुसार ‘प्रतिकिलो चारसय रुपियाँमा घरबाट बिक्री हुने गरेको छ’ उहाँले भन्नुभयो, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग गरिरहन्छन्, अर्को वर्षदेखि हामीसँग पर्याप्त उत्पादन र आम्दानी हुनेछ’ परम्परागत कृषि गर्दा बाँदर तथा अन्य जनावरबाट जोगाउन समस्या भएपछि ड्रागनफ्रुटलाई रोजेको रानाको भनाइ छ । 

आफ नै व्यक्तिगत लगानीमा सुरु गरेको व्यवसायलाई अब बिस्तार गर्दै लैजाने सोचमा रहेका जुनकलाले वडामा अनुदान पाउने कुराले खुसी भएको बताउनुभयो । उहाँले कृषकका लागि वडा ११ ले ल्याएको योजना देख्दा खुसी व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष यादवसिंह कार्कीले तानसेन नगरपालिका ११ लाई ७८ लाख ४० हजार बजेट विनियोजन भएको बताउनुभयो । कार्कीले पहाडी समुदाय र गाउँमा आर्थिक आम्दानीको मुख्य स्रोत नै कृषि भएकाले वडाले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।