• १२ साउन २०८१, शनिबार

गोरखा नगरपालिकाको बजेट पारित

blog

गुणबहादुर रोका 

सुलीकोट, असार ३१ गते । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएको छ । नगर सभाको १४ औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान बजेट सर्वसम्मत पारित गरेको हो । 

१४ औँ नगर सभाका सभाध्यक्ष एवम् नगर प्रमुख कृष्ण बहादुर राना मगरले बजेट स्वीकृतका लागि सभामा पेस गर्नुभएको थियो । गोरखा नगरपालिकाले आगामी वर्षका लागि ९८ करोड ४६ लाख ६ हजार बराबरको बजेट ल्याएको हो । जसमा आन्तरिक आयतर्फ ६ करोड ७६ लाख सङ्लन गर्ने लक्ष्य नगरपालिकाको छ । 

त्यसैगरी दोस्रो बैठकले आर्थिक ऐन २०८१, विनियोजन विधेयक २०८१ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०८१-०८२ को प्रस्तावित योजना, कार्यक्रमको बजेट स्वीकृत गरेको हो । 

गोरखा नगरपालिका भित्रका पर्यटनलाई विशेष महत्त्व दिँदै २०८१ लाई पर्यटन वर्ष मनाउने निर्णय समेत गरेको छ । लेखा समितिले पेस गरेको प्रतिवेदन स्वीकृत गरिनुका साथै बेरुजु कम गर्न आर्थिक समितिका संयोजक सित्तलकाजी मास्केले सुझाव दिनुभएको छ । 

गोरखा नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालयबाट पेस भए बमोजिमको आर्थिक वर्ष २०८१-०८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् । गोरखा नगरपालिका र वडा कार्यालय अन्तर्गत रहेका करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धी एजेन्डा पनि सभाले स्वीकृत गरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरखा नगरपालिकामा सबैभन्दा धेरै बजेट पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्नका लागि सभामा पेस भएर स्वीकृत भएको छ ।