• १६ भदौ २०८१, आइतबार

डिभिजन वन कार्यालयबाट एक लाख बढी विरुवा वितरण

blog

डिभिजन वन कार्यालयमा हुर्काइएका विरुवा लैजादै स्थानीय । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार ३१ गते । नवलपुरमा भू–क्षय तथा कटान रोकथाम, वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरणका लागि वृक्षरोपणलाई तीव्रता दिन थालिएको छ । अहिले वर्षायामको समय भएका कारण बिरुवा रोप्दा जोगाउन सजिलो हुने साथै  बिरुवा छिटो सर्ने हुनाले पनि वृक्षरोपण हुने गरेको हो ।

वातावरण संरक्षणका लागि र पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षाका साथ पछिल्लो समय सामुदायिक वनका साथै सामाजिक संस्थाहरूले वृक्षरोपणलाई तीव्रता दिइरहेका छन् । जिल्लामा डिभिजन वन कार्यालयले आफ्नै नर्सरी तयार पारी निःशुल्क रूपमा बिरुवा वितरण गर्दै आइरहेको छ । यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा २८ प्रजातिका बिरुवा तयार गरेको छ । 

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले डिभिजन वन कार्यालय परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सब डिभिजन कार्यालयको सब डिभिजन नर्सरीमा एक महिनाको अवधिमा करिब एक लाख १३ हजार ९ सय ३८ बिरुवा निःशुल्क वितरण गरिसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "डिभिजन वन कार्यालय कावासोतीबाट अन्ठानब्बे हजार एक सय ५३ र गैँडाकोट सब डिभिजन कार्यालयबाट पन्ध्र हजार सात सय ८५  गरी करिब एक लाख १३ हजार बिरुवा वितरण भइसकेको छ ।” डिभिजन वन कार्यालय कावासोतीमा २७ हजार दुई सय २२ र गैँडाकोट सब डिभिजनमा ११ हजार दुई सय १५ बिरुवा बाँकी रहेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले विशेषगरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरूले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुर जस्ता बिरुवा लैजाने गरेको बताउनुभयो । खाली जमिनमा लगाउन बाँस र बडहरका १२ हजार बिरुवा निःशुल्क वितरण गरी स्थानीयले लगेको उहाँले बताउनुभयो । 

जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि खरिद गर्न आउनेहरू बढेका छन् । नर्सरीमा बाँस, तेजपात, हर्रो, बर्रो, धुपी, कपुर, म्याडगोस्टिक, अशोक, सितलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी,चिउरी, भटमास घाँस, लगायतका बिरुवा छन् ।

मानव अधिकार एयरलाइन्स नवलपुरद्वारा आफ्नो वार्षिकोत्सवमा मध्यबिन्दु नगरपालिकामा वृक्षरोपण गरिएको छ । मध्येबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले दिगो विकास लक्ष्य प्राप्तिका लागि वातावरण संरक्षण अपरिहार्य रहेको हुँदा यसका लागि वृक्षारोपण गर्नेतर्फ सबैपक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले औपचारिकताको लागि मात्र बिरुवा रोप्ने भन्दा पनि त्यसको प्रभावकारितामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

हरित विद्यालय निर्माण गरी बालबालिकाको अध्ययनमा सहज बनाउनका लागि सबै विद्यालय लाग्नुपर्ने मानव अधिकार एयरलाइन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेले बिरुवा रोप्नु मात्र ठुलो कुरा नभएको बताउँदै बिरुवा रोपिसकेपछि वर्षको तीन, चार पटक गोडमेल समेत गर्नुपर्ने बताउनुभयो । एक घर एक बिरुवाको अभियान चलाउन पनि उहाँले सुझाव दिनुभएको छ ।