• ३ साउन २०८१, बिहिबार

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु : खेलकुदमन्त्री चौधरी

blog

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताउनुभयो ।


उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभाबी लगानी गर्नेकुरा अब नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ । हाम्रो अवधि केही अप्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभाबी लगानी गरेको महसुस गरेका छौँ ।’’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनुभयो ।