• १२ साउन २०८१, शनिबार

पहिरोमा एकै परिवारका चार सदस्य गुमाउनेलाई राहत

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार ३१ गते । कास्कीको पोखरा महानगरपालिका १९ तल्लाकोट टारीमा पहिरोमा परी परिवारका चार सदस्य गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ । गएको २७ गते राति आएको पहिरोमा परी पहिरोले घर पुरिँदा मृत्यु भएका कुलबहादुर परियार, उहाँकी श्रीमती मनकुमारी र छोरीहरू लक्षिमा परियार, प्रशनाको मृत्यु भएको थियो । 

परिवारलाई टारीमै पुगी कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे नेतृत्वको जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले सात लाख प्रदान गरेको हो । नेपाल सरकारको जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट दुई लाख गरी जम्मा सात लाख राहत हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले घटनामा नाबालक पवनबाहेक परिवारका सबै सदस्यको निधन भएकाले राहत रकम दुरुपयोग हुन नदिने व्यवस्था मिलाउन स्थानीय तहलाई उहाँले निर्देशन दिनुभयो । पहिरोमा परी घर पूर्ण रूपमा क्षति भएकाले आवास पुनर्निर्माण प्रक्रिया थाल्न पनि उहाँले आग्रह गर्नुभयो । 

सोही घटनामा मृत्यु भएका प्रभा परियार र अस्मित परियारका परिवारलाई आवश्यक कागजातसहित नजिकको हकदार सम्पर्कमा आएपश्चात तत्काल राहत रकम उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । प्रभा कुलबहादुरकी छोरी हुनुहुन्छ । 

घटनामा वैदेशिक रोजगारीमा रहनुभएकी एक छोरी मुना परिवार र छोरा पवनबाहेक सबैको निधन भएको छ । पवन स्थानीय विन्ध्यश्वरी माविमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।