• १२ साउन २०८१, शनिबार

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहणपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिरः सागर बस्नेत

काठमाडौँ, असार ३१ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

 नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ ।  

उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको थियो । 



गुरुङले ३४ हजार ९८५ मत ल्याउनुहुँदा उहाँका प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७९१ मत ल्याउनुभएको थियो । एमाले नेता  पृथ्वी सुब्बा गुरुङले तीन हजार १ सय ९४ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो । 

गुरुङ अहिले नेकपा एमालेको उपमहासचिव हुनुहुन्छ । गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री गुरुङको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो ।



२०३८ सालमा एमाले इलाका पार्टी सङ्गठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा (माले) द्वारा सञ्चालित पञ्चायतविरोधी सङ्घर्ष, २०४६ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ ।