• १२ साउन २०८१, शनिबार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

blog

अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिरः कविन अधिकारी

काठमाडौं, असार ३१ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । 

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको हो ।

गत निर्वाचनमा उहाँले २७ हजार एक सय ६५ मत प्राप्त गर्नुहुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार सात सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

पौडेलको संसदीय यात्रा २०५१ सालबाट सुरु भएको हो । उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । 

पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको थियो । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी उहाँले पाउनुभयो ।

 

वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । 

पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त हुनुभएको थियो । 

यसबिच राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादी र एमालेसहितको सरकार गठनमा सहमति जुट्न सकेन ।  उक्त समय उपप्रधान तथा अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीसँगै  २०७९ फागुन १५ गते राजीनामा दिनुभएको थियो ।