• १२ साउन २०८१, शनिबार

हाइकिङसँग जोडिँदै गर्लाङ सामुदायिक होमस्टे

blog

गण्डकी,  असार ३१ गते । पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ । 

प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुर्‍याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । “हाइकर्स क्लब नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आबद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुर्‍याउने गरेका छौँ ।”

विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुभयो ।

गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । 

पछिल्लो समय बिस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने गुरुङले बताउनुभयो । यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न  गाउँमाथि रहेको झुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ ।

जोगीमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुम सम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुग्न सकिन्छ । पोखरा महानगरपालिका–१६ का पर्यटकीय गन्तव्यमध्ये गर्लाङ एक भएको वडा सदस्य रामचन्द्र आचार्य बताउनुहुन्छ ।

“हाइकर्स क्लबले आयोजना गरेको हाइकिङले यहाँको पर्यटन प्रवर्द्धन हुने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “यस किसिमका प्रवर्द्धनात्मक गतिविधिले पछि परेका गन्तव्यको प्रवर्द्धन र विकास हुन्छ ।” स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ गरिँदै आएको क्लबका उपाध्यक्ष ज्योति हमालले बताउनुभयो । पोखराबाट नजिक रहेर  प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्न गर्लाङ सामुदायिक होमस्टे छनोट गरिएको उहाँले जानकारी दिनुभयो । 

क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्लब नेपालले सदस्यता वृद्धि अभियान थालेको बताउनुभयो । उहाँका अनुसार क्लबको साधारण सदस्यका लागि पाँच सय र आजीवन सदस्यको लागि तीन हजार लिने गरिएको छ । हाइकिङमा सहभागी हुन क्लबको सदस्य नहुनेले पनि पाउने उहाँले बताउनुभयो । सदस्यता नलिएका सहभागीका हकमा अतिरिक्त ५० रुपियाँ थप बुझाउनु पर्ने निर्णय क्लबले गरेको छ ।

पोखरा र आसपासमा विगत छ वर्षदेखि नियमित सञ्चालित हाइकिङमा हालसम्म १० देखि ७६ वर्ष उमेर समूहका नेपाली तथा विदेशी नागरिकसमेत गरी हजारौँ सहभागी भइसकेका छन् ।  क्लबका सचिव मधु अधिकारीले हाइकिङका माध्यमबाट हरेक शृङ्खलामा नयाँ  गन्तव्यको प्रवर्द्धन गरिँदै आएको बताउनुभयो । रासस