• १२ साउन २०८१, शनिबार

पाल्पामा ६० प्रतिशत रोपाइँ सम्पन्न

blog

धान रोपेपछि हरियाली फाँट । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असार ३० गते । पाल्पामा हालसम्म धान खेती हुने भूभागमध्ये ६० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका धेरैजसो स्थानमा रोपाइँ भएको हो । 

माडी, कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूको अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।  रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूमा भने अहिले पनि रोपाइँ चलिरहेको केन्द्रले जनाएको छ । रामपुरको अधिकांश भूभागमा मकै नपाकेका कारण रोपाइँ हुन बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "पाल्पाको अधिकांश स्थानमा धमाधम रोपाइँ भइरहेको छ, रामपुरलगायतका क्षेत्रमा मकै पाकेपछि साउनको पहिलो साताभित्र रोपाइँ सकिन्छ ।"

धान खेतीका लागि पर्याप्त पानी पुगेपछि किसानले दुई सातामै रोपाइँको अधिकांश काम सकिएको बताएका छन् । पानी नपरेका कारण यो वर्ष ढिला गरी रोपाइँ सुरु भएको थियो । गत वर्ष यो अवधिमा ८० प्रतिशत धान रोपाइँ सकिएको थियो । पानी परेपछि कृषि प्रविधिको प्रयोगले दुई सातामै ६० प्रतिशत धान खेती हुने भूभागमा रोपाइँ सकिएको केन्द्रका प्रमुख चौधरीले बताउनुभयो । 

पूर्वी भेग रामपुर, पूर्वखोला, गेझालगायतका फाँटहरूमा हिउँदे धान र मकै खेती स्याहार्न बाँकी रहेकाले रोपाइँ साउनको पहिलो सातासम्म हुनेछ । पाल्पामा आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । हिउँदे धानको खेती भने ७२० हेक्टरमा मात्र हुँदै आएको छ । 

पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुँदै आएको छ । 

कृषि यन्त्रले रोपाइँ सहज

पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको छ । धान रोपाइँमा ट्याक्टर, रोलाभेटर, हाते ट्याक्टर जस्ता मेसिनको प्रयोग बढेपछि दुई साताभित्रै अधिकांश भूभागमा धान खेती सकिएको ज्ञान केन्द्रका सूचना अधिकारी राम सुरत पालले जानकारी दिनुभयो । विगत केही वर्षअघिसम्म हलगोरु र मानिसको सहायताले मात्र धान रोपाइँ गर्दा दुई महिना लाग्ने गरेको थियो ।