• १३ साउन २०८१, आइतबार

मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने

blog

चौतारा, असार ३० गते । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत आयोजनाको डिसेन्डर स्वल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारु र सुमन थारुका परिवारलाई प्रतिपरिवार ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो । 

लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब-कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ ।

मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए ।  पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बिमा बापतको २० लाख परिवारको मुद्दती खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख र डेढ लाख काजक्रिया खर्चबापत उपलब्ध गराउने छ ।

मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ । आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख उपलब्ध गराउने भएको छ । 

आयोजनाको ‘डिसेन्डर बेसिनको कभर स्वल्याब’ ढलान भत्किँदा  उनीहरू यही असार २१ गते थिचिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकैबिच उनीहरूको खोजी सुरु गरेको थियो । शनिबार बिहान मात्र उनीहरू मृत अवस्थामा फेला परेका थिए । उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकाले उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको आयोजनाले जनाएको छ । रासस