सन्तोष सुवेदी
कास्की, असार ३० गते । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताउनुभएको छ ।
नेपाल अपाङ्गता सङ्घ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित सङ्घ संस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं,” उहाँले भन्नुभयो । मन्त्री थापाले अपाङ्गता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सीप विकास तालिम दिलाई उनीहरूबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणि ढुङ्गानाले अपाङ्गता भएका व्यक्तिहरूको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताउनुभयो ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठुलो राहत मिल्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औँल्याउनुभयो ।