• १३ साउन २०८१, आइतबार

बाँके पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

blog

पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणाको प्रमाणपत्र प्रदान गर्दै मन्त्री दीपेन्द्रकुमार पुन । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार ३० गते ।
 बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीलाई संयुक्त रूपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री पुनले २१ औँ शताब्दीमा हामीले बालबालिकालाई खोजेर खोप लगाई पूर्णखोप घोषणा गरिरहनु दुःखद भएको बताउनुभयो ।

‘‘बालबालिकाका अभिभावक खोप खोज्दै स्वास्थ्य संस्थाहरूमा आउनुपर्ने र नपाए झगडा गर्नुपर्ने युगमा हामीले बालबालिकालाई खोजेर खोप लगाउनु परेकाले यसैबाट हामी कहाँ छौँ भन्ने पुष्टि गर्छ ।,’’ उहाँले भन्नुभयो ।

मन्त्री पुनले असार ३२ गते लुम्बिनी प्रदेशलाई पूर्णखोप दिगोपना सुनिश्चितता प्रदेश घोषणा गर्ने जनाउनुहुँदै गत वर्ष प्रदेशलाई घोषणा गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले जिल्लालाई पूर्णखोप घोषणा गर्न चुनौती रहेको बताउनुहुँदै अझैपनि जनतामा स्वास्थ्य चेतना बढाउन धेरै मिहिनेत गर्नुपर्ने जिकिर गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य निर्देशनालयका निर्देशक कुमार थापा, भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाही, जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दल बहादुर राना र महिला स्वास्थ्य स्वयंसेविका प्रेरणा शाही लगायतले खोपको महत्त्व र खोपमा जिल्लालाई दिगो बनाउने बारे आ–आफ्नो धारणा राख्नुभयो ।

यसैगरी, सो अभियानमा हरेक पालिकाबाट उत्कृष्ट काम गर्ने एक जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । यसरी उत्कृष्ट काम गरेर सम्मानित हुनेहरूमा नेपालगन्ज उपमहानगरबाट गोमा आचार्य, कोहलपुर नगरपालिकाबाट उषादेवी सापकोटा, राप्ती सोनारी गाउँपालिकाबाट रिमन्ता शर्मा, डुडुवाबाट खगेन्द्र शर्मा, नरैनापुरबाट कमला कसेरा, बैजनाथबाट उदय कुमार विष्ट र खजुराबाट सावित्री देवकोटा र सिता खत्री रहनुभएको छ ।

कार्यक्रममा सहभागी विभिन्न अतिथि, सङ्घसंस्था, महिला स्वास्थ्य स्वयंसेविकाहरू र पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार समग्र जिल्लालाई पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्न यसअघि माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरेर १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका सबै बालबालिकाको पहिचान गरिएको थियो । छुटेका सबै बालबालिकालाई पुनः खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नुपर्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै सबै पालिकामा रहेका खोप लगाउने उमेरका सबै बालबालिकालाई खोप लगाएर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा यस अघि नै गरिसकिएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिएको छ ।