• ११ मंसिर २०८१, मङ्गलबार

बिरामी पर्दा एम्बुलेन्स हैन स्टेचर

blog

ललित बसेल

सुर्खेत, असार ३० गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतका बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचरमा चढ्नुपर्ने बाध्यता छ । दुर्गमका गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई एम्बुलेन्ससम्म पु-याउनका लागि स्ट्रेचरमा बोकेर लैजानु पर्छ । 

सुर्खेतका दुर्गम मानिएका चौकुने, वराहताल, सिम्ता, चिङ्गाड गाउँपालिका तथा लेकबेँसी, पञ्चपुरी नगरपालिकाका विभिन्न वडाका बिरामी उपचार सेवाका लागि स्वास्थ्य संस्था जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचर चढेर आउनुपर्ने बाध्यता छ । सडक यातायात पुग्न नसकेका ठाउँका बिरामी एम्बुलेन्ससम्म पुग्न स्ट्रेचर प्रयोग गर्नु परिरहेको छ । 

दुर्गम भेगमा सडक नपुगेको र सडक पुगे पनि यातायातका साधन चल्न सक्ने गरी बाटोघाटोको अवस्था नहुँदा लामो दुरीसम्म स्ट्रेचरमा बोक्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ छ । 

वराहताल गाउँपालिकाको वडा नं. १, २, ३ र ४ अन्तर्गतका गाउँबस्ती निकै दुर्गममा छन् । यी बस्तीमा पुग्न भेरी नदी पार गर्नुपर्ने भएकाले बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको छ । यी वडाभित्रका गाउँबस्तीका गर्भवती प्रायः घरमै सुत्केरी हुने गरेका छन् । 

यी वडामा एम्बुलेन्स जान सक्दैन । वराहताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्रबहादुर खत्रीले भौगोलिक विकटताले सडक पुग्न नसक्दा एम्बुलेन्स जान नसक्ने भएकाले स्ट्रेचरमा बोकेर यातायात पुगेको ठाउँसम्म पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो । सो पालिकामा यस वर्ष १८ जना गर्भवती घरमै सुत्केरी भएका छन् । दुर्गमको भौगोलिक अवस्था र बिरामी बोक्ने मानिस नहुँदा स्वास्थ्य केन्द्रसम्म आउन नसकेका गर्भवती महिला बाध्यतावश घरमै सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खत्रीले बताउनुभयो । 

यसै गरी चिङ्गाड गाउँपालिकाका दुर्गम वडाको अवस्था पनि यस्तै छ । सो पालिकाको वडा नं. १, २, ३ का रजेना, रानीबास, पाम्कामा पनि राम्रोसँग गाडी सञ्चालन हुन नसक्दा बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चल्ने सडकसम्म ल्याउनुपर्ने गरेको छ ।

चिङ्गाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन पौडेलले यातायातका अभावमा बिरामीलाई स्ट्रेचरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । सो पालिकामा गत आर्थिक वर्षमा पाँच जना महिला घरमै सुत्केरी भएका थिए । पालिकाले एम्बुलेन्स पनि सञ्चालन गरेको छ तर त्यहाँ चढ्न पनि पहिले स्ट्रेचरमा बोकर ल्याउनु पर्छ । 

सो गाउँपालिका उपाध्यक्ष मीना रोकायाले भौगोलिक कठिनाइले महिला अझै पनि घरमै सुत्केरी हुनु परेको र घरसम्म एम्बुलेन्स पुग्ने बाटो नहुँदा स्ट्रेचरमा बोक्नु परेको बताउनुभयो । उहाँले महिलाको जीवन सुरक्षाका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको हुँदा वडा वडामा पुगेका सडकलाई बाह्रै महिना चल्ने बनाउने प्रयत्न भइरहेको जनाउनुभयो । 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ निरीक्षक उदय विसीले दुर्गमका पालिकाका वडामा यो कहाली लाग्दो अवस्था रहेको बताउनुभयो । स्ट्रेचरमा बोकेर बिरामीलाई उपचार गर्न ल्याउँदा ढिलो हुने, स्वास्थ्य जोखिम बढ्ने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।