• १२ साउन २०८१, शनिबार

नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या

blog

नहर । फाइल तस्बिर

पर्वत, असार २९ गते । जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ । 

जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नतिका क्रममा दिइएको डाँडा क्षेत्रमा बासकोटे खोलाबाट सञ्चालित उपल्लो खनियाघाट सिँचाइ आयोजनाको २५ मिटर लामो नहर पूर्णरुपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत यस वर्ष बाँझै रहने भएको छ । 

भत्काइएको नहर पुनः निर्माण नहुँदा धुले बिउ राखेको भन्दै धान रोपाइँ पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाघाट सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष विष्णु जिसीले बताउनुभयो । “ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन्, अहिले सडक बनाएर गए तर नहर बनाएनन्”, उहाँले भन्नुभयो, “यसअघिका वर्षमा पानी बीउ राख्ने गरेका थियौँ । यसपालि सिँचाइ नहुँदा धुले बिउ राखिएको छ । सिँचाइका लागि नहर नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।” 

यहाँका ३३ धुरी कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिँचाइको अभाव भएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाइँ हुने गरेको थियो । वि.सं.२०६१ मा मार्ग खोलिएको खनीयाँघाट-डमुवाखोला-नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि गत मङ्सिरमा साहना-सक्षम निर्माण कम्पनीले एक करोड ३३ लाख ५५ हजार दुई सय १८ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि चार मिटर फराकिलो रहेको सडकलाई विस्तार गरेर छदेखि सात मिटर फराकिलो बनाइनुका साथै छ सय ६४ मिटर ढलान र नाली, एक सय पाँच घनमिटर पलम पर्खाल, एक सय ३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पीडित कृषकहरूले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मत गरी सिँचाइ नियमित गराउन अनुरोध गर्दै निवेदन दिएका थिए । 

सडकले नहरमा पुर्‍याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य र वडाध्यक्ष हरिविकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधिले पाइपलाइन जडान गरेर सिँचाइका लागि पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि काम हुन नसकेको कृषकले गुनासो गरेका छन् । रासस