• १२ मंसिर २०८१, बुधबार

एघार वडामा ठुला पूर्वाधार निर्माण

blog

रामेछाप समाचारदाता

रामेछाप, असार २९ गते । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । 

विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको भन्दै विसं १९७७ साउन ११ गते पव्रmाउ पर्नुभएको थियो । उहाँको १९८० सालमा कारागारमा नै निधन भएको थियो । 

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको सम्झनामा चालु आर्थिक वर्ष २०८०/८१ को नगर वडा साझेदारी योजना अन्तर्गत ३० लाख रुपियाँ बजेटबाट पार्क निर्माण गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाको नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति अनुसार पार्क निर्माण भएको हो । यो पार्क निर्माणमा वडा र नगरको १५÷१५ लाख गरी ३० लाख रुपियाँ खर्च भएको छ । सहिद कृष्णलालको जन्मस्थलमा उहाँको सम्झनामा पार्क निर्माण गरिएको छ । यो योजनालाई एउटा ऐतिहासिक योजनाका रूपमा हामीले लिएका छौँ ।” पार्कमा वरिपरि घेराबारसहितको कृष्णलाल अधिकारीको सालिक राखिएको र सडकबाट पार्कसम्म पुग्ने २० मिटर रेलिङसहितको सिँढी निर्माण गरिएको उहाँले बताउनुभयो ।  

मन्थली नगरपालिका–२ को कठजोर नमुना (कृष्णलाल) पार्क जस्तै चालु आवमा नगरपालिकाका ११ वटा वडामा ‘नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी’ नीति अनुसार ठुला योजना सम्पन्न भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा वडा नं. १, ४ र १० बाहेकका वडामा वडा नगर साझेदारीबाट ३० लाख रुपियाँको बजेटमा योजना सम्पन्न भएको नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाले ‘नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी’ नीति लिएको छ । सोही नीति अनुसार चालु आवमा ११ वटा वडामा ३० लाखको लागतमा पूर्वाधार विकासका योजना बनेको र आगामी आवमा पनि नगरले ४० लाख रुपियाँको लागतमा पूर्वाधार विकासका योजना निर्माण गर्ने गरी नीति तथा कार्यव्रmम र बजेट ल्याएको छ ।” 

उहाँका अनुसार चालु आवमा नगर वडा साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. २ कृष्णलाल पार्क, वडा नं. ३ र ५ मा खानेपानी योजना, वडा नं. ६, ७, ९, ११, १२ र १४ मा सडक योजना सम्पन्न भएका छन् । त्यसै गरी वडा नं ८ मा पैदलमार्ग र वडा नं. १३ मा सामुदायिक भवन निर्माण गरिएको छ ।