• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा प्राकृतिक विपत्:दुई लाख ३३ हजार जना प्रभावित हुन सक्ने

blog

धनगढी समाचारदाता

धनगढी, असार २९ गते । सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्का घटनाबाट दुई लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने आकलन गरिएको छ । बाढी, पहिरो जस्ता मनसुनजन्य विपत्का घटनाबाट ५३ हजार ३६२ घरधुरीका मानिस प्रभावित हुन सक्ने आकलन गरिएको हो । यसमा बाढी तथा डुबानबाट प्रभावित हुनेको सङ्ख्या बढी हुन सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बाढी तथा डुबानबाट सबैभन्दा बढी कञ्चनपुरमा ९६ हजार १५२ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । यसै गरी कैलालीमा ८२ हजार ६५ जना प्रभावित हुने अनुमान रहेको छ । सात दिनअगाडि मात्रै आएको बाढीले कैलाली, कञ्चनपुरका धेरै जसो क्षेत्र डुबानमा पारेको थियो । बाढीमा डुबेर कञ्चनपुरमा पाँच जनाले ज्यान गुमाए भने कैलालीका एक जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट डोटीमा १३ हजार ७७२, बाजुरामा १० हजार ७८९, डडेलधुरामा आठ हजार ८८१, बैतडीमा आठ हजार ६४६ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । त्यसै गरी अछाममा चार हजार ५७८, बझाङमा चार हजार ५३५ र दार्चुलामा तीन हजार ७७२ जना प्रभावित हुने अनुमान गरिएको छ । 

सुदूरपश्चिम प्रदेशभरि हरेक बर्खाको समयमा बाढी र डुबानका समस्या हुने गरेको छ । महाकाली, कर्णाली, सेती र तिनका सहायक नदीहरूको बाढीले डुबान हुने गरेको छ । तराईमा बाढीको असर बढी रहे पनि पहाडी जिल्लामा नदी किनार र होचा भूभागमा रहेका बस्ती पनि बाढी र डुबानका जोखिममा छन् । विगत १० वर्षमा सुदूरपश्चिममा बाढी र डुबानका १६१ घटना भएका छन् । ती घटनामा ६२ जनाको मृत्यु भएको थियो भने ४९ जना बेपत्ता भए र ३० जना घाइते भएका छन् । पानीको उच्च बहावका कारण गाउँबस्तीमा बाढी, डुबान, कटानको जोखिम उच्च छ । बाढीले गर्दा १० वर्षमा सात हजार ५२८ घरमा आंशिक र तीन हजार ४०५ घरमा पूर्ण क्षति भएको थियो । पछिल्लो १० वर्षमा २०६८, २०७०, २०७३ र २०७८ मा बाढी तथा डुबानका घटना बढी भएको केन्द्रले जानकारी दिएको छ । 

प्रदेशका सात वटै पहाडी जिल्ला र कैलालीका केही भूभाग पहिरोको उच्च जोखिममा छन् । यो प्रदेशमा २०६९ देखि २०७९ सम्म ३१८ वटा पहिरोका घटना भएका छन् । ती घटनामा परेर १५६ जनाको मृत्यु हुनुका साथै २४ जना बेपत्ता र ११९ जना घाइते भएका छन् । यसअघि गरिएका विभिन्न समयका अध्ययनले बाजुरा, बझाङ र अछामका भूभाग पहिरोको उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको छ । यद्यपि दार्चुला, बझाङ, डोटी, बैतडी र अछाममा पहिरोका घटना र मानवीय क्षति बढी भएको देखिएको छ । 

पूर्वतयारी

प्रदेश सरकारले सम्भावित जोखिमसहित हुन सक्ने अन्य प्रभावलाई दृष्टिगत गरेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पारेको छ ।  वर्षायाममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोपपूर्व अपनाइने सावधानीका उपाय, खोज तथा उद्धार, प्रभावितलाई राहत वितरणका आधारभूत विषय समेटेर सुदूरपश्चिम प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ तयार पारिएको हो । यसमा विपत्पश्चात् गर्न सकिने मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा गर्न सकिने आधारभूत विषय पनि समावेश गरिएको छ । विपत् प्रतिकार्य कार्ययोजना स्वीकृत भइसकेको मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले जानकारी दिनुभयो । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको मुख्य उद्देश्य यस प्रदेशमा मनसुन अवधिभर हुन सक्ने सम्भावित प्रकोपहरूको आकलन गरी आवश्यक तयारी तथा प्रतिकार्यका लागि न्यूनतम आधार तयार गर्ने रहेको जनाइएको छ । विपत् जोखिम न्यूनीकरण र प्रतिकार्यका सम्पूर्ण व्रिmयाकलाप प्रभावकारी बनाउने रहेको केन्द्रले जनाएको छ ।