• १२ साउन २०८१, शनिबार

दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेल प्रस्ताव

blog

काठमाडौँ, असार २९ गते । कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा  आयोजित बैठकमा सो प्रस्ताव गरिएको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

राखेपले १० औँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर २–९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ देखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको जनाइएको छ । महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष-महिला हक्की र तेक्वान्दो खेललाई १० औँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअगावै गर्ने गरी प्रस्ताव गरिएको छ । निर्णायक सङ्ख्या १४९९ प्रस्ताव गरिएको छ । १० औँ राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६९ करोड बजेट सुनिश्चित भइसकेको जनाइएको छ । १० औँ राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना हुने छ ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकमा तोकिएकै समयमा १० औँ राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताउनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार आवासको व्यवस्थापनका कारण कर्णाली प्रदेशका पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने अवस्था छ । बाँकी खेलका विषय चाँडै टुङ्गो लगाउनुपर्ने छ ।