सिराज खान
नेपालगन्ज, असार २९ गते । बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहमा पटक पटक हुने गरेको झडप, कुटाकुट र विवादको प्रमुख कारण लागुऔषध नै रहेको पाइएको छ । बालबन्दी सुधारका लागि स्थापना गरिएको सो बाल सुधारगृहमा सहज रूपमा लागुऔषध भित्रिने गरेकाले सोही विषयलाई लिएर पटक पटक बालबन्दीबिच विवाद र झडप हुँदै आएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले बाल सुधारगृहमा धेरै वर्षदेखि विवाद र झडप हुँदै आएकोमा सोको प्रमुख कारण लागुऔषध नै भएको बताउनुभयो । उहाँले सुधारगृहमा आफन्तसँगको भेटघाटदेखि कुनै सामान ल्याउने लैजाने कार्यमा चौकीदारी गर्नेको भूमिका अहम् रहने गरेकाले हरेक विवाद र झडपमा चौकीदारको संलग्नता रहने गरेको पाइएको बताउनुभयो ।
चौकीदारकै अनुमतिबाट बालबन्दीसमेत बाहिर र भित्र आउने जाने गरेकाले चौकीदार बन्नका लागि पनि तँछाडमछाड हुने गरेकाले पनि विवाद र कुटपिट हुने गरेको पाइएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जले जनाएको छ ।
लागुऔषध ल्याउने र सेवन गर्ने विषयमै विवाद हुँदा गत वर्ष भएको झडप र कुटपिटमा एक बालबन्दीको मृत्यु भएको थियो भने १० जनाभन्दा बढी घाइते भएका थिए । सो विवादपछि हुलहुज्जत गर्ने र लागुऔषध सेवन गर्ने एक सय जनाभन्दा बढीलाई त्यहाँबाट सारेर नौबस्तास्थित कारागारमा बनाइएको बाल सुधारगृहमा पठाइएको थियो तर त्यसपछि पनि विवाद र झडप हुने
व्रmम रोकिएको छैन । अहिले पनि सो बाल सुधारगृहमा लागुऔषध भित्रिने गरेको जनाउँदै त्यसको कारोबार गर्ने विषयमा बेला बेलामा विवाद हुने गरेको र लागुऔषध सेवन गर्नेले नगर्नेलाई कुटपिट गर्ने गरेको एक जना बालबन्दीले बताए ।
उनले सुधारगृहको सुरक्षा व्यवस्था निकै फितलो भएको र बालबन्दीको मनपरी रहेकाले पटक पटक झगडा र विवाद हुने गरेको बताए । उता बाल सुधारगृहका प्रमुख विमला काउचा मगरले केही वर्षपहिले त्यहाँ लागुऔषधले नै विवाद हुने गरेको स्विकार्दै अहिले त्यहाँ लागुऔषध कसैले लैजान र प्रयोग गर्न नपाएको तथा चौकीदारले कडाइ गरेकै कारण विवाद भएको बताउनुभयो ।
उहाँले विवाद र हुलहुज्जत गर्ने २७ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएकाले अब यहाँ विवाद र झडप नहुने आशा गरिएको पनि बताउनुभयो । पछिल्लो पटक असार २४ गते साँझ र २६ गते दिउँसो पनि पुनः सो सुधारगृहमा ठुलो झडप, विवाद र कुटाकुट भयो । सोही अवसर छोपेर करिब ८० जना बालबन्दी त्यहाँबाट भाग्न सफल भए ।
विवादलगत्तै त्यहाँ पुगेको ठुलो सङ्ख्याको प्रहरीले उनीहरूको खोजी गरेर सम्पर्कमा ल्यायो भने दुई जना भारतीय बालबन्दी भागेर भारत छिर्न सफल भएकाले फिर्ता ल्याउन नसकिएको बताउनुभयो ।
अहिले हुलहुज्जत गर्ने चौकीदारलगायत २७ जनालाई जिल्ला प्रहरी कार्यालयमा पु¥याइएको छ । उनीहरूलाई फिर्ता गर्ने कि नौबस्ता पु¥याउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोही विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको टोली र सुरक्षा निकायका प्रमुखले सुधारगृहको अनुगमन गरेर पटक पटकको विवाद र झडपको कारणबारे सोधपुछ गरेका छन् । हाल नौबस्ता कारागारमा रहेको बाल सुधारगृहमा ११३ जना बालबन्दी छन् भने जयन्दु बाल सुधारगृहमा २३२ जना बालबन्दी छन् ।