• १५ मंसिर २०८१, शनिबार

निर्माण व्यवसायी आन्दोलित

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार २९ गते । निर्माण व्यवसायी सरकारको विकास निर्माणको काम गरेबापतको भुक्तानी नपाएपछि आन्दोलित भएका छन् । विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले भुक्तानी निकासा माग गर्ने क्रममा सडक डिभिजन कार्यालय हेटौँडामा शुव्रmबार तालाबन्दी र धर्ना दिएका छन् ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरको अगुवाइमा सडक डिभिजन कार्यालय, हेटौँडामार्फत भएका कामको भुक्तानीको निकासाका लागि माग गर्दै धर्ना र तालाबन्दी गरिएको हो । कर्मचारीलाई कार्यालयभित्र राखेर मूलद्वारमा सङ्घका अध्यक्ष बालगोपाल कँडेललगायतका निर्माण व्यवसायीले तालाबन्दी गरी विरोध जनाएका थिए । सङ्घले सडक डिभिजन कार्यालय, हेटौँडामार्फत सडक र पुल निर्माण गरिएको २५ करोड रुपियाँभन्दा बढी भुक्तानी नपाएको जनाएको छ । गत फागुनदेखि नै निर्माणको कामको बिलसहित भुक्तानी माग गर्दासमेत भुक्तानी नपाएको भन्दै सडक डिभिजन कार्यालय, हेटौँडा मातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको भुक्तानी नपाएपछि तीन जिल्लाका निर्माण व्यवसायी संयुक्त रूपमा धर्नामा बसेका थिए । निर्माण व्यवसायीले लगाएको ताला प्रहरीले खोलेको थियो । सडक डिभिजन कार्यालय, हेटौँडाका प्रतिनिधि र धर्नामा बसेका निर्माण व्यवसायी सङ्घ मकवानपुरका पदाधिकारीबिच छलफल भएको थियो । छलफलमा निर्माण व्यवसायीले तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेपछि सडक डिभिजनका कर्मचारीले भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानीका लागि माग गरे पनि लामो समयदेखि भुक्तानी नपाएपछि धर्ना र तालाबन्दी गरिएको जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीको माग तत्काल सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयलगायत सरकारी कार्यालय र स्थानीय तहका ५० करोड रुपियाँभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । काम गरेको बिलसहित भुक्तानीलाई अनुरोध गर्दा समेत विभिन्न बहानामा भुक्तानी नपाएको सङ्घका महासचिव राजेन्द्र चौलागाईंले बताउनुभयो । 

सङ्घले सडक डिभिजन हेटौँडाबाट निर्माण व्यवसायीले करिब १७ करोड रुपियाँ निर्माणको कामबापत भुक्तानी पाउन बाँकी रहेको भन्दै तत्काल भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सडक डिभिजन हेटौँडाबाट सपना/सागर कन्स्ट्रक्सनको एक करोड ३५ लाख, निरिक्षा निर्माण सेवा प्रालिको एक करोड, मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिको एक करोड ४० लाख, डिएस कन्स्ट्रक्सन/मोना जेभीको एक करोड ५० लाख, एलाइट÷मोना जेभीको एक करोड ५० लाख र विभिन्न स्थानको पुल निर्माणबापतको १० करोड रुपियाँ निर्माण कार्यको भुक्तानी पाउन बाँकी रहेको सङ्घले जनाएको छ ।